२० मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ६७औं म्याचमा एकतर्फी जीत हासिल गरी एमएस धोनीको कप्तानीमा रहने चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्सले प्लेअफ्-मा प्रवेश गऱ्यो। शनिवार खेलिएको दिनको पहिलो म्याचमा चेन्नई सुपर किंग्सले असहाय दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गऱ्यो। यस जीतपछि चेन्नईको टीम १४ वटा म्याचमा १७ पोइण्ट्सको साथ आईपीएल टेबलको दोस्रो स्थानमा पुग्यो। गत विजेता गुजरात टाइटन्सले अगावै प्लेअफ्-मा स्थान बनाइसकेको छ। दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर २२३ रनको विशाल स्कोर बनायो। ओपनर डेवोन कन्वेले ११ वटा चौका र ३ वटा छक्काको साथ ५२ बलमा सर्वाधिक ८७ रन बनाए। यसरी उनका साथी ओपनर रुतुराज गायकवाड़ले ७ वटा छक्का र ३ वटा चौकाको साथ ५० बलमा ७९ रन बनाए। यी दुई बाहेक शिवम दुबेले ३ वटा छक्काको साथ ९ बलमा २२ रनको योगदान दिए। जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो। कप्तान डेविड वार्नरलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। वार्नरले ७ वटा चौका र ५ वटा छक्काको साथ ५८ बलमा ८६ रन बनाए। अक्षर पटेलले दोस्रो सर्वाधिक १५ रन बनाए। चेन्नई सुपर किंग्सका बलरहरूमा दीपक चाहरले सर्वाधिक ३ विकेट लिए। यसबाहेक महीष तीक्ष्णा र माथिशा पथिरानाले २-२ विकेट हासिल गरे।