पहाड़को शान्ति, विकास र भविष्यको लागि मैनमत्ती बालेर प्रार्थना गरिदिने अनित थापाको निवेदन
खरसाङ: पहाड़को शान्ति, विकास र समृध्दिको लागि सबैले प्रत्येक घरमा आगामी २४ र २५ जूनको राती मैनमत्ती बालिदिने र पहाड़को शान्ति र विकास अनि पहाड़को भविष्यको लागि प्रार्थना गरिदिने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले तीनधारेमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै निवेदन गरेका छन्। उनले आगामी २४ जूनको दिन पहाड़ तराई डुवर्सको भविष्य निर्माण गर्नको लागि घुमदेखि ८ किलोमीटरसम्मको पैदल यात्रा गर्ने घोषणा गरेका छन् भने उक्त पैदल यात्रामा सबैलाई साथ दिने आह्वान गर्दै २४ जूनको दिन बिहान १० बजे घुममा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा खरसाङ महकुमा अन्तर्गत तीनधारेको चिल्ड्रेन पार्क परिसरमा जनसभा सम्पन्न भएको छ। उक्त जनसभा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बाको अध्यक्षता र युवा शक्ति तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। उक्त जनसभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले मलाई सदैव झुक्कायो तर यसपाली मलाई झुक्काउँदैन भन्ने विस्वास छ भन्दै हामीले ८६ देखि नै धेरै गुमायौं, केवल आन्दोलन मात्र गर्यौं तर अहिले प्रत्येक घरमा जान्छु सबैतिर केवल बेरोजगारी समस्या मात्र छ भनी बताएका छन्। थापाले व्यवस्थित पहाड़ बनाउनलाई सरकारसित मिल्नुपर्छ अनि यो कुरा म क्लियर भनेको छु तर पहाड़का नेताहरू सरकारसित भित्र मिल्छ अनि खुल्ला रुपमा भन्न सक्दैन कारण सरकारसित मिल्दा भोट पाउँदैन भनेर। तर जीटीए बंगालभित्रको व्यवस्था हो भनी बताए। अनित थापाले अव्यस्थित पहाड़लाई व्यवस्थित बनाउनुपर्छ भन्दै लोकतन्त्रमा शान्तीमय परिवेश फर्काएर ल्याएको छु, त्यसैले कसैले कसैलाई गाली नगरिदिनु कारण चुनाव सकेर हामी सबै मिलेर काम गर्नुपर्छ, नेताको लागि झगड़ा नगर्नु अनि आफ्नो सम्बन्ध नबिगार्नु भनी बताएका छन्। उनले खरसाङमा अजय एडवर्डले खरसाङमा एकपल्ट मौका दिने अनुरोध गरेको विषयमा बोल्दै अजय एडवर्डले चारपल्ट चुनाव जितेको बताउँदै मैले आफ्नो नेतृत्वमा कुनै चुनाव नजितेको तर पनि जनताको सेवामा लागिरहेको बताए। थापाले मलाई गाली गर्छ, हराउँछ तर समस्या पर्दा म भएकोमा सबै आउँछ अनि समस्या पर्दा चुनावमा जिताएकोलाई कसैले पनि खोज्दैन तर म भएकोमा नै आउँछ अनि म सबैलाई निराश पारेर फर्काउँदिन भनी बताएका छन्। उनले मैले पहाड़मा आशा निर्माण गर्दा गर्दा यो समय भयो र अब पहाड़को भविष्य निर्माण गर्ने बताएका छन्। उक्त जनसभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले सम्बोधन गर्दै मैले जितेको खण्डमा फोहोर मैला प्रबन्धनको कार्य अवश्य गर्नेछु अनि फोहोर मैलाले ब्लक भएको नालाहरू सफा गर्नेछु कारण यसले पैह्रो जाने सम्भावना ज्यादा हुन्छ भनी बताएका छन्। उनले शहीद पार्कको सुन्दीकरण गर्ने तथा यहाँको हरेक समस्याहरूको समाधानको लागि कार्य गर्ने आश्वासन दिएका छन्। छेत्रीले जनताको आशिर्वादले म अवश्य पनि जित्नेछु भन्दै जनताको समस्याहरू बुथ स्तरीय कमिटी र समष्टी कमिटीको माध्यमबाट आउनु पर्ने तर सोझै माथिल्लो लेवलमा जानु नहुने सुझाव पनि राखेका छन्।
भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा तीनधारेमा सम्पन्न जनसभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सह सचिव राजेस थापा, माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिको सचिव निमा लेप्चा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको सचिव सञ्जीव लामा, सिमिरिङ बुथ कमिटीको डीबी सुब्बाले पनि वक्तव्य राखेका थिए।