२० मईः ओलम्पिक च्याम्पियन ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा १३ जूनमा फिनल्याण्डको तुरकुमा हुने पावो नुरमी खेलहरूमा आफ्नो गत प्रदर्शनमा सुधार गर्दै स्वर्ण पदक जित्न चाहन्छन्। चोपड़ाले गत वर्ष ८९.३० मीटरको दूरीको साथ यी खेलहरूमा रजत पदक जितेका थिए। उनको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८९.९४ मीटर हो, जुन गत विश्व च्याम्पियनशीप (अमेरिकाको यूजीन)-मा आएको थियो। यस २५ वर्षीय खेलाड़ीको यो सत्रको तेस्रो प्रतियोगिता हुनेछ। उनले ५ मईमा दोहामा भएको प्रतिष्ठित डायमण्ड लीग सीरीजको पहिलो चरणमा स्वर्ण पदक जितेका थिए। पावो नुरमी खेलहरू अघि उनले चार जूनमा नीदरल्याण्डको हेगेलोमा फेनी ब्लेंकर्स-कोएन गेम्समा हिस्सा लिनेछन्।
यी खेलहरूमा चोपड़ा अघि दुई सालमा पहिलोपल्ट जर्मनीका स्टार ज्याभलिन थ्रो खेलाड़ी जोहान्स वेटरको चुनौती हुनेछ। वेटर टोक्यो ओलम्पिकमा खिताबको निम्ति अन्तिम चरणमा स्थान बनाउन असफल रहेका थिए। पावो नुरमी खेलहरूमा चोपड़ा अघि वेटर बाहेक टोक्यो ओलम्पिकमा रजत पदक जित्ने जेबक वडलेज्च, त्रिनिदाद एण्ड टोबागोका केशोर्न वाल्कोट, जर्मनीका यूरोपियन च्याम्पियन जूलियन वेबर अनि फिनल्याण्डका यूरोपियन च्याम्पियनशीपमा काँस्य पदक विजेता लस्सी एटेलाटोलोको चुनौती पनि हुनेछ।