गान्तोकः गैर सरकारी संस्था सारथीको पहलमा आज सोरेङ जिल्ला अन्तर्गत सरकारी उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षगृहमा नशालु पदार्थ सेवन, मानसिक स्वास्थ्य र मूल्य आधारित शिक्षामाथि प्रेरणामुखी कार्यक्रम आयोजना गरियो। आजको यस कार्यक्रममा सारथी संगठनका प्रमुख संरक्षक एवम् मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज मुख्य अतिथि तथा कृषि, वागवाणी विभागका अध्यक्ष सीके राणा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा रोहितराज महाराजले नशालु पदार्थको सेवन मूल्य आधारित शिक्षामाथि पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराए। यसरी नै शिक्षा विभाग सोरेङका सीईओ केबी छेत्रीले आफ्नो सम्बोधनमा नानीहरूको निम्ति आमा पहिले शिक्षक रहेको र घरबाट नै मूल्य आधारित शिक्षा शुरू गरिने बताए।
उनले राज्यमा घट्दो जन्मदर संख्या सबैभन्दा ठूलो समस्या भएको बताए। छेत्रीले शिक्षकहरूलाई अध्याय र पाठ्यक्रम पूरा गरेपछि आफ्ना विचार र नैतिक शिक्षा बाल-बालिकालाई बाढ्नुपर्ने निर्देशन दिए। सोही प्रकारले संस्थाका अध्यक्ष हरि रिजालले संस्थाको कार्य नीतिबारे संक्षिप्तमा जानकारी गराए। उनले राज्यमा बढदो नशालु पदार्थको समस्याबारे पनि अवगत गराए। अध्यक्ष रिजालले सिक्किम राज्यलाई ड्रग्समुक्त बनाउने राज्य सरकारले गरेको पहलको प्रशंसा गर्दै धन्यवाद दिए। संस्थाले विद्यालय र समाजमा लागूऔषध दुरुपयोगको रोकथाम, मानसिक स्वास्थ्य समस्याहरू, र नैतिकतामा आधारित शिक्षाको लक्ष्य राखेको अवगत गराए। सिक्किमका प्रत्येक विद्यालयबाट दुई जना शिक्षकलाई नशालु पदार्थबारे विद्यार्थीहरू सचेत गराउनको निम्ति तालिम दिइने योजना रहेको बताए। संस्थाले आउँदो आर्थिक वर्ष २०२४ देखि २०२५ सम्म सोरेङ जिल्ला भित्रका १४ वटा विभिन्न उच्च माध्यमिक विद्यालयमा आफ्नो परियोजना कार्यान्वयन गर्ने योजना रहेको थप जानकारी गराए।
-हिस