निःशुल्क दिव्याङ्ग कृत्रिम सामग्री परिसेवा

8232034d-7e40-4828-aebe-1ab0b4c6d0dc

कालचिनीः अलिपुरद्वार जिल्ला प्रशासनको आयोजना तथा राजस्थान जयपुरको संस्था भगवान महाबीर विकलाङ्ग सहायता समितिको सहयोगितामा दुई दिवसीय निःशुल्क कृत्रिम जयपुर खुट्टा र हात लगायत हियरिङ एड, व्हील चेयर, ट्राइसाइकल आदि उपयोगी दिव्याङ्ग सामग्री वितरण शुरु भएको छ। कालचिनी स्थित यूनियन एकाडेमी स्कूलमा सम्पन्न सो कार्यक्रममा मुख्य अतिथिको रुपमा अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा लगायत कालचिनी बीडीओ प्रशान्त बर्मन, अलिपुरद्वार विधायक सुमन काञ्जीलाल, बीएमओएच डा. सुभाषचन्द्र कर्मकार, अलिपुरद्वार समाजसेवी तथा मानवीक मुख एनजीओका प्रमुख रातुल विस्वास, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, गारोपाड़ा ग्राम पञ्चायतका प्रधान बिन्दिया लामा, चुवापाड़ा ग्राम पञ्चायतका उपप्रधान राजेन लामा, कालचिनी पञ्चायत समितिको शिक्षा कर्माध्याक्ष प्रेम लामा एवम् अन्यान्य जनप्रतिनिधिहरुको प्रमुख उपस्थिति रहेको थियो। शिविरको उद्घाटन अतिथिहरूको बाहुलीबाट दीप प्रज्वलन मार्फत गरिएको थियो।
कालचिनी ब्लक र अलिपुरद्वार एक नम्बर ब्लकको निम्ति आयोजित सो शिविरमा प्रायः ३ हजार भन्दा अधिक दिव्याङ्गहरूको घुँईचो लागेको थियो भने जिल्ला शासक अनि उपस्थित अतिथिहरूको बाहुलीबाट दिव्याङ्गहरूलाई व्हील चेयर र ट्राइसाइकल साथै ब्लक प्रशासनबाट मच्छरदानी वितरण गरिएको थियो। पश्चिम बंगाल राज्य सरकारको दिशानिर्देशमा नै यो परिसेवा सम्पन्न गर्न सकेको जिल्ला शासक सुरेन्द्र कुमार मीणाले बताएका छन्। शिविरमा शुरुवातमा मात्र १२०० दिव्याङ्गहरूको नाम पञ्जिकरण भएको तर आज प्रथम दिनको शिविरमा नै ३००० भन्दा अधिक दिव्याङ्गहरूको जमायत यूनियन एकाडेमी स्कूलमा देख्दा र यसरी सेवा प्रदान गर्न पाउँदा खुसी लागेको जिल्ला शासक सुरेन्द्र कुमार मीणाले जनाएका छन्। यस शिविरमा यदि कुनै दिव्याङ्गले सामग्री नपाए उनीहरुलाई पछि चाहिएको सामग्री घरमा पुऱ्याउने पनि वाचा जिल्ला प्रशासनले लिएको छ भने यसपछि अर्को शिविर कुमारग्राम ब्लक र अलिपुरद्वार दुई नम्बर ब्लकको निम्ति सम्पन्न हुने र यस अघि मदारीहाट र फालाकाटा ब्लकको निम्ति शिविर सम्पन्न भएको बताउँदै मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा प्रत्येक गाउँ स्तरका आवश्यकमन्द जनतालाई सरकारी परिसेवा पुऱ्याउने लक्ष्य रहेकोले विशेषगरी दिव्याङ्गहरूको निम्ति यो शिविर सम्पन्न भएको अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement