सुकेपोखरी (भारत): नेपाली नाटक लेखन,मञ्चन तथा यसको पौराणिकता र आधुनिकरण बारे विषद चर्चा गर्न पोखरा नेपालमा तीन दिवसीय अन्तरार्ष्ट्रीय नाटक सेमिनार प्रथम रुपमा आयोजना गरियो। नाट्य प्रतिष्ठान पोखराको आयोजनामा सम्पन्न सेमिनारमा भारतका विभिन्न राज्य लगायत नेपाल राष्ट्रका विभिन्न प्रान्तबाट सहभागी बनेका प्रबुद्ध नाट्य लेखक, रङ्गकर्मी र चिन्तकहरुले नाटक विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरे। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य मुख्य अतिथि रहेको प्रथम उद्घाटन समारोहमा तिनले भारत नेपालका अथिति लेखक तथा नाट्यकर्मीहरुलाई स्वागत जनाउदै भाषा साहित्यको जीवन्त पक्ष नाटक रहेको विचार साझा गरे।दीप प्रज्वलनद्वारा संचालित समारोहमा वरिष्ठ समालोचक डा. दयाराम श्रेष्ठले नेपाली नाटकको कुम्भ मेला उक्त सेमिनार रहेको दावी जताउदै यसबाट विश्व बन्धुत्व स्थापित हुने बताए। नाट्य प्रतिष्ठानका मुख्य सल्लाहकार एवम् साहित्यकार सरुभक्त श्रेष्ठले यस सेमिनारले नेपाल भारतमाझ रहेको सांस्कृतिक र रंगकर्मीहरुमा रहेको मैत्रिकताको सेतु तयार पार्न टेवाको काम गर्ने बताए। प्रतिष्ठान अध्यक्ष डा. रामचन्द्र पोखरेलले सेमिनारलाई रङ्ग सम्मेलनको संज्ञा दिदै कार्यक्रम समाप्तिपछि अर्को अभियानको रुपमा प्रतिष्ठानले बालकृष्ण सम र अशेष मल्लका सम्पूर्ण नाटक प्रकाशन गर्ने अड़ान स्पष्ट पारे। तीनदिनसम्म चलेको यस भव्य एवम् सभ्य नाट्य विद्यामाथिको सेमिनारमा भारत एवम् नेपालका मोठ २० जना लेखकहरुले कार्य पत्र प्रस्तुत गरे।यस क्रममा नाटक विषयमा आफ्नो अवधारणा साझा गर्दै उनीहरुले नेपाल एवम् भारतीय नाटकबिच तादम्यता स्थापित गर्न कार्यक्रम फलदायी हुने जनाउदै पोखरामा फरक दृष्टिकोणको कार्यक्रम हुन सकेको बताए।सेमिनारमा सहभागी बन्न नेपालको निम्तोमा भारत देशका ४२जना स्रष्टाहरु पोखरा पुगेका थिए भने जसमध्ये सिक्किमबाट मुख्यमंत्रीका सल्लाहकार तथा साहित्यकार सीपी शर्मा, प्रसिद्ध नाट्यकर्मी ध्रुव लोहागन,असमका प्रवुद्ध साहित्यकार केबी नेपाली, सिलगढ़ीका युवराज काफ्ले, दिल्लीबाट धर्मराज थापा, डा. कृष्णराज घतानी,डा. सुकराज दियाली,डा.जीवन राणा,डा. विजय रुचाल,सम्पादक तथा पत्रकार खेम सापकोटा,डा. गीता छेत्री,डा.साङ्गमु लेप्चा, कालेबुङ पेदोङ कलेजका प्राध्यापक नवीन पौड्याल कलकत्ता नगरका कवि लेखक संजीव गुरुङ,शरद छेत्री, योगेश खाति आदि मुख्य रुपले सहभागी बनेर आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।सेमिनारबाट निस्केको निष्कर्षलाई अवलोकन गरेर अब आउने पुस्ताले नेपाली नाटकप्रति गौरव गर्ने विषयमाथि ओजपुर्ण मन्तव्य वरिष्ठ रंगकर्मी अशेष मल्लले साझा गरेको उक्त समारोह अवधि आयोजक नाट्य प्रतिष्ठानको पक्षबाट नेपाली नाट्य क्षेत्रमा भगीरथ योगदान पुराउने डा० दयाराम श्रेष्ठ,ओममणी शर्मा नेपाल,सीपी शर्मा सिक्किम भारत अनि केबी नेपाली असम भारतलाई प्रशस्ती पत्रको साथमा अंगवस्त्र तथा स्मृतिचिन्ह प्रदान गरेर सम्मान जनाइयो।तीनदिनको उक्त नाटकीय सेमिनार यात्राको क्रममा नेपालका डा. नारायणदत्त पन्थ,डा. कान्छी महर्जन,डा. गीता सापकोटा,पुरु लम्साल,नेत्र ऐटम, डा. अशोक थापा,डा. सावित्री कक्षपति,ताराप्रशाद पोखरेल एवं असमका पुर्णकुमार शर्माले नाट्य लेखन प्रवृत्ति विषयमा कार्यपत्र पेश गर्न साथै यसमाथि समिक्षा मुलक अवधारणा साझा गरेका थिए।