२२ जूनः कोलम्बोको प्रेमादासा स्टेडियममा श्रीलंकाई क्रिकेट टीमले अष्ट्रेलियालाई चौथो वनडे म्याचमा ४ रनले पराजित गऱ्यो। यसरी श्रीलंकाले अष्ट्रेलिया विरुद्ध ३ दशकपछि घरेलु क्रिकेट सीरीज जित्यो। श्रीलंकालाई सीरीज जीत दिलाउनमा चरिथ असालंकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरे, जसले चौथो म्याचमा प्रतिकूल परिस्थितिमा ११० रन बनाएर टीमलाई असल स्कोरसम्म पुऱ्याए। म्याचमा पहिला ब्याटिंग गर्दै श्रीलंकाको शुरुवात खराब रह्यो अनि स्कोरबोर्डमा ३४ रन पुग्दासम्म ३ विकेटको पतन भइसकेको थियो। त्यहाँदेखि असालंकाले धनञ्जय डी सिल्वासँग मिलेर टीमलाई खराब स्थितिबाट बाहिर निकाले। धनञ्जयले ६१ बलमा ७ वटा चौकाको सहायताले ६० रन बनाए। असालंकाले आफ्नो शतकीय ईनिंग्समा १०६ बल खेलेर १० वटा चौका र एउटा छक्का लगाए। कप्तान दासुन शनाका केवल ४ रन बनाएर आउट भए। दुनिथ वेल्लालागेले १८ र वानिन्दु हसारंगाले २१ रनको योगदान दिए। श्रीलंकाको ईनिंग्सको अन्तिम 3 ओभर खराब रह्यो अनि टीमले त्यस अवधि ३ विकेट गुमाएर केवल १० रन बनाउन सक्यो। अष्ट्रेलियाको तर्फबाट म्याथ्यू कुहनेमान, प्याट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिए।

जवाफमा अष्ट्रेलियाई टीम ५० ओभरमा २५४ रनको स्कोरमा अलआउट भयो। शीर्ष क्रमको चरम असफलताबीच ओपनर डेविड वार्नरले चाहिँ लड़ाकू ब्याटिंग गरे। वार्नर दुर्भाग्यजनक तरिकाले ९९ रनको स्कोरमा आउट भए। उनले ११२ बल खेलेर १२ वटा चौका लगाए। यसबाहेक प्याट कमिन्सले ३५, ट्रेविस हेडले २७ र मिचेल मार्शले २६ रनको योगदान दिए। कप्तान एरोन फिञ्च शून्य अनि ग्लेन म्याक्सवेल केवल एक रन बनाएर आउट हुँदा अष्ट्रेलियालाई ठूलो धक्का लाग्यो। मार्नस लाबुशेनले १४ र विकेटकीपर एलेक्स केरीले १९ रन बनाए। श्रीलंकाका बलरहरूमा चमिका करुणारत्ने, धनञ्जय डी सिल्वा र जेफरी वण्डरसेले २-२ विकेट लिए। यसरी श्रीलंकाले अष्ट्रेलिया विरुद्ध वनडे सीरीजमा ३-१-ले अजेय बढत हासिल गऱ्यो।









