गान्तोकः पूर्व सिक्किमको सिंगबेल, माखामा बिहिवार बिहान एउटा निजी विद्यालयको बस दुर्घटना हुॅंदा लगभग २६ जना घाइते भएका छन्। घाइतेहरूमा साना-साना विद्यार्थीहरू सामेल छन्। यस अतिरिक्त, बस चालक र दुई जना स्टाफ पनि घाइते भएका छन्। घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

जानकारी अनुसार, बिहिवार बिहान एउटा निजी विद्यालयका नानीहरूलाई लिएर गइरहेको बस सिंगबेलमा दुर्घटनाग्रस्त भयो। बसमा बस चालक, स्टाफ र विद्यार्थीहरू थिए। सिंगबेल आठ माइलमा बस सडकदेखि मुनि झऱ्यो। दुर्घटनाको चपेटमा परेर लगभग २३ जना विद्यार्थीका साथै बस चालक र दुई स्टाफ घाइते भएका छन्। केही विद्यार्थीहरूलाई गम्भीर चोट लागेको बताइएको छ। दुर्घटनापछि घाइतेहरूलाई सिङताम जिल्ला अस्पताल लगियो। त्यहॉं प्राथमिक उपचारपछि केही गम्भीर रूपमा घाइते विद्यार्थीहरूलाई राजधानीको मणिपाल अस्पताल र न्यू एसटीएनएम अस्पताल रेफर गरिएको छ। समाचार लेखुन्जेलसम्म दुर्घटनामा कसैको ज्यानहानि भएको सूचना छैन। दुर्घटनाको कारण पनि अहिले स्पष्ट हुन सकेको छैन।










