गान्तोक। सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज विधानसभामा वर्ष २०२३-२४ बजेट अभिभाषणको क्रममा एकपल्ट फेरि थाँतीमा रहेका प्रमुख मागहरू जस्तै राज्य विधानसभमा लिम्बू र तामाङ समुदायलाई जनजाति आसन आरक्षण, सिक्किमे नेपाली समुदायका १२ वटा छुटेका जात गोष्ठीलाई जनजातिको मान्यता, १७औं कर्मापा उगेन थिन्ले दोर्जीलाई रुम्तेक गुम्बामा स्वागत आदि पूरा गर्न राज्य सरकार कटिवद्ध रहेको बताएका छन्। यी मागहरूलाई पूरा गर्न एसकेएम सरकारले कुनै कसर बाँकी नराख्ने बताए। उल्लेखनीय छ, यी मागहरू एसकेएम पार्टीको चुनाउ घोषणापत्रमा पनि रहेको छ।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा भने, म यो पनि बताउन चाहन्छु कि हामीसामु निकट भविष्यमा विचाराधीन मुद्दाहरूको निश्चित र दिगो समाधान ल्याउने चुनौतीहरू छन्। मैले मेपो पछिल्लो बजेट भाषणमा भनेझैं हामी सचेत, स्थिर र एकतावद्ध रहनुपर्छ। साथै, म सिक्किमे जनतालाई आश्वासन दिन चाहन्छु कि हाम्रो सरकारले यी सबै लामो समयदेखि थाँतीमा रहेका मुद्दाहरू स्थायी समाधान गर्न कुनै कसर बाँकी राख्ने छैन। यसै सन्दर्भमा बोल्दै उनले एसकेएम सरकारले विगत तीन वर्षमा धर्मगुरू दलाई लामा र १७औं कर्मापा उगेन थिन्ले दोर्जीको सिक्किम भ्रमणलाई सहज बनाउन बजेटको व्यवस्था गर्दै आएको पनि उनले थप बताए।

मुख्यमन्त्री तामाङले कम्पनी अधिनियम २०१३ द्वारा परिवर्तित सिक्किम कम्पनी पञ्जीकरण अधिनियम १९६१लाई निरन्तरता दिनको साथै मैदानी भागबाट सिक्किमका विभिन्न ठाउँमा वैकल्पिक सबै मौसममा चल्ने राजमार्गहरूको स्थापना गर्नु पनि सरकारको लक्ष्य रहेको आज आफ्नो सम्बोधनमा बताए।