गायक शरण सिंहले पहाड़लाई दिए ‘मेरो डाँड़ा पखेरो’को उपहार

00-1-Chheriya-Samachar

दार्जीलिङ: दार्जीलिङ प्रेस गिल्डमा आज दार्जीलिङ पहाड़का चर्चित गायक शरण सिंहको स्वरमा प्रस्तुत भावना सिंहद्वारा प्रस्तुत म्युजिक भिडियो मेरो डाँड़ा पखेरोको विधिवत सार्वजनिक गरिएको छ। उक्त प्रेस भेला संगीत जगतका अग्रज कलाकार  कार्निभल टोलीका प्रमुख चन्दन लमजेल, अग्रज संगीतकार, संगीत प्रशिक्षक बसन्त छेत्री, गीतकार सन्तोष थापा, संगीत संयोजक, रेकडिस्ट विनय सेवा, कलाकारहरू क्रमैले सागर बल, सोनु राई, रेखा भित्रीकोटी, रोजी गहतराज, भावना सिंह, अमृत लिम्बु, सुरज गजमेर, सुवास बस्नेत, रोशलिन प्रधान, शुभेच्छा राईको उपस्थितिमा सम्पन्न गरियो।

श्रव्य अनि दृश्य म्युजिक भिडियो मेरो डाँड़ा पखेरो गीतलाई शरण सिंहले गाएका छन् भने संगीतकार बसन्त छेत्रीद्वारा संगीतबद्ध गरिएको छ भने यस गीतलाई सन्तोष थापाको शब्दले जसाएको छ। यस गीतलाई रेकडिस्ट, संगीत संयोजक विनय सेवाद्वारा संगीत संयोजन गरेको छ भने भिडियो सम्पादन, परिकल्पना अनि छायांकन कलाकार देवराज थापाको रहेको छ। पत्रकार तथा साहित्यकार सबिता थापाद्वारा सञ्चालन गरिएको यस कार्यक्रमको प्रथममा कलाकारहरूको परिचय गराएपछि सबैमा श्रद्धार्पण गरियो। यसपछि उपस्थित कलाकारहरूको बाहुलीबाट म्युजिक भिडियोको लोकार्पण गरिएपछि प्रमुख अतिथि चन्दन लमजेलद्वारा आजको दिनमा यस म्युजिक भिडियोको श्रोता अनि दर्शकहरूमा सार्वजनिक भएको घोषणा गरे।

प्रेस भेलालाई सम्बोधनमा राख्दै क्रमैले लोकार्पित म्युजिक भिडियोका संगीतकार बसन्त छेत्री, प्रमुख अतिथि चन्दन लमजेल, गीतकार सन्तोष थापा अनि गायक शरण सिंहले यस म्युजिक भिडियोमाथि मन्तव्य राखे।

स्मरण रहोस् गायक शरण सिंहले यसभन्दा अघि गायक, संगीतकार पारस गजमेरको मेरा भाग्य एल्बम, आँधीहुरी, अतितको सम्झना अनि बन्दकी माटो आदि एल्बमहरूमा आफ्नो गायक साथीहरू सुवास बस्नेत, सागर बल आदिसित गरेको बताए भने आफू संगीत क्षेत्रमा रूचिकर भए तापनि कतिपय कारणले गर्दा धेरै पछाड़िएको अनि आज आएर सबै साथीहरूको जोश र उत्साहमा यस म्युजिक भिडियोलाई दर्शकसमक्ष पस्किन पाएको बताए। अनि यस म्युजिक भिडियोका जति पनि संगीतकार, गीतकार अनि सम्पूर्ण कलाकरहरूलाई आभार प्रकट गरेका छन् भनी प्रेस गिल्डको पक्षमा सबिता संकल्पले जानकारी दिएकी छन्।

About Author

Advertisement