बजेट अधिवेशन शुरूः वित्तीय वर्ष २०२३-२४ को निम्ति बजेटसॅंग विभिन्न विधेयकहरू पेश

budget._898

गान्तोकः सिक्किम विधानसभाको बजेट अधिवेशन बुधवारदेखि शुरू भएको छ। अधिवेशनको आज पहिलो दिन मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले वित्तीय वर्ष २०२३-२४ को निम्ति सदनमा बजेट पेश गरे। बजेटमाथि भोलि सदनको दोस्रो दिन बहस हुनेछ। यसैगरी, आज बजेट अधिवेशनको पहिलो दिन राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बजेट अभिभाषण राखे। उनको बजेट अभिभाषणमाथि भोलि सदनमा बहस हुनेछ। आफ्नो बजेट अभिभाषणमा राज्यपाल आचार्यले वर्तमान बजेटलाई आरबीआईले सप्त ऋषि संज्ञा दिएको उल्लेख गर्दै यसमा समावेशी विकास, पूर्वाधार विकास, रोजगार सृजना, नवप्रवर्तन, हरित वृद्धि, विकास र लास्ट माइल कनेक्टिविटी सामेल रहेको बताए। उनले विगत चार वर्षका केही महत्वपूर्ण उपलब्धीहरूमाथि प्रकाश पार्दै राज्यको समग्र विकास सुनिश्चित गर्न सरकारको पहलको सराहना गरे।

उनले पर्यावरण, कृषि, रोजगार, यातायात, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण आदि क्षेत्रहरूमा सरकारका विभिन्न पहलहरूमाथि पनि प्रकाश पारेका थिए। उनले सिक्किमको उज्ज्वल अनि समृद्धि भविष्यका लागि सबैलाई अथक परिश्रम गर्न अनि राज्यले झेल्न परिरहेका चुनौतीहरूलाई सम्बोधित गर्न आह्वान गरे। उनले सरकारका कार्यक्रमहरूलाई कार्यान्वयन गर्न सदस्यहरूबाट प्राप्त भइरहेका समर्थनका लागि धन्यवाद दिए। यसैगरी, मुख्यमन्त्रीले बजेट राख्ने क्रममा यस बजेटमा सरकारले पूर्व सरकारका लम्बित दायित्वहरूलाई पूरा गर्ने प्रयास गरेको छ भनी बताए। यस अतिरिक्त उनले यस बजेटमा पाथिङ पैह्रो प्रभावित परिवारहरूको पुनर्वासका लागि धन राशि आवण्टित गरेको जानकारी गराए। यसरी नै पशुपालनको क्षेत्रमा औषिधहरूको आपूर्ति चार गुना वृद्धि गरिएको, सड़क निर्माण र मरम्मतिका लागि ६० करोड़ आवण्टित गरेको, एसएनटी बस सेवामा सुधार गरिने, खेल मैदानहरू निर्माणका लागि ३० करोड़ आवण्टित गरिएको, कला क्षेत्रमा प्रतिभाहरूलाई प्रोत्साहित गर्न धन राशि आवण्टित गरिएको जानकारी गराए। आज शिक्षा मन्त्री केएन लेप्चाले सिक्किम राष्ट्रिय कानून विश्वविद्यालय (संशोधन) विधेयक, सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटी बिल, सिक्किम अर्ग्यानिक एग्रीकल्चर युनिभर्सिटी बिल पेश गरे। उक्त विधेयकहरूमाथि शुक्रवार सदनमा बहस हुनेछ। यसैगरी, मुख्यमन्त्री तथा गृह विभाग मन्त्री प्रेमसिंह तामाङले सिक्किम फायर एण्ड इमरजेन्सी सर्विसेज बिल, शहरी विकास विभाग मन्त्री एलबी दासले सिक्किम नन्-बायोडीग्रेडेबल गार्बेज (कण्ट्रोल) (रीपिलिङ) बिल तथा कानून मन्त्री केएन लेप्चाले सिक्किम लोकायुक्त (संशोधन) विधेयक पेश गरे। उक्त विधेयकहरूमाथि भोलि सदनमा बहस हुनेछ।

-हिस

About Author

Advertisement