गान्तोक: मंगन जिल्लाको पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा आज डिजिटल इन्डियालाई लिएर एक कार्यशाला सम्पन्न भयो। देशका नागरिकलाई सरकारी सेवाको सहज पहुँच र उपलब्धता सुनिश्चित गर्न र देशलाई डिजिटलरूपमा सशक्त बनाउन भारत सरकारद्वारा शुरु गरेको डिजिटल इन्डिया कार्यक्रमको जिल्ला प्रशासनलाई जानकारी गराउन यस कार्यशालाको आयोजना गरिएको हो।
कार्यक्रममा राज्य कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा, उपमहानिदेशक एनआईसी मुख्यालय सह राज्य संयोजक सिक्किमको उपस्थिति थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्षले कार्यशालाको महत्वबारे जानकारी गराए। उनले जिल्लामा प्रभावकारी र सफल डिजिटलाइजेसन कार्यान्वयन गर्न थप काम गर्न जिल्लाका अधिकारीहरूलाई यस विषयमा विस्तृत जानकारी लिने आग्रह गरे।
सोही प्रकारले मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले आफ्नो सम्बोधनमा अतिथिहरूलाई स्वागत गर्दै जिल्लामा नेटवर्क जडान, विद्युत्को विफलता र पूर्वाधारको समस्याहरूबारे थप जानकारी गराए। उनले डिजिटल इन्डियाको दृष्टिमा हुने कुनै पनि अवरोध हटाउन उपयुक्त अधिकारीद्वारा हस्तक्षेप गर्ने आशा व्यक्त गरे।