हलचल मच्चाउँदै च्याट-जीपीटी

00-1-Chat-GPT-1

यस्तो च्याटबोट, जहाँ तपाइँ कुनै विषयमा कविता माग्नुहोस्, लेख माग्नुहोस् वा अनुवाद गराउनुहोस् वा कुनै विषयमा सोध्नुहोस् कुनै मानिसले जस्तै तपाइँको अघि प्रस्तुत गर्दछ। वास्तवमा, त्यो कुनै मानिसले गरेको हुँदैन। आखिरमा के हो त यस्तो च्याटबोट?

गएको केही महिनादेखि समग्र विश्वभर च्याट-जीपीटीको बारेमा सर्वाधिक चर्चा चलिरहेको छ। च्याट-जीपीटीले अहिलेको इन्टरनेट युगमा व्यापक हलचल मच्चाएको छ। यसको आगमन भएसँगै विभिन्न किसिमका चर्चाहरू भइरहेका छन्। सबैभन्दा महत्त्वपूर्ण चर्चा भनेको च्याट-जीपीटीको कारणले धेरैको रोजगार हराउनेछ भन्ने रहेको छ। यति मात्र होइन अहिलेको सबैभन्दा ठूलो सर्च (खोजी गर्ने) इन्जिन गूगललाई समेत खतरा हुनसक्छ भन्ने चर्चा चलेको छ।

   समग्र विश्वमै हलचल मच्चाउने यो च्याट-जीपीटी वास्तवमा के हो? च्याट-जीपटी, ओपन-एआई (आर्टिफिसियल इन्टेलिजेन्स)द्वारा विकसित एक धेरै ठूलो स्तरको भाषा मोडेल हो। च्याट-जीपीटी विशेष गरी ग्राहक सेवाको लागि ल्याइएको हो। तर अहिले चर्चामा आएपछि मानिसहरुले यसलाई धेरै विषयमा प्रयोग गर्न थालेका छन्। यसलाई एआई च्याटबोट जस्तै मान्न सकिन्छ। यो अनलाइन ग्राहक सेवाको लागि तयार गरिएको हो। यसलाई पहिले नै यसरी प्रशिक्षित गरिएको छ, यसले विभिन्न प्राकृतिक भाषा प्रशोधन प्रयोग गर्दछ। यसको अर्थ हो, यसको प्रयोगकर्ताले त्यसबाट केहि सोध्छन् र त्यो प्रयोगकर्तासँग मानिसले जस्तै लिखित रूप (टेक्स्ट)मा कुरा गर्छ, कुरा गर्दा प्रयोगकर्तालाई रोबोट नभएर कुनै मानिससँग कुरा गरिरहेको महसुस हुन्छ। यो मोडेल आर्टिफिसियल इन्टेलिजेन्समा आधारित छ। यो भाषा बुझाई, उत्तरको तयारी र अनुवादका क्षेत्रमा काम गर्ने आधुनिक एआईको उदाहरण हो। यसलाई जेनरल प्रोडक्टिव टेक्स्ट (जीपीटी) श्रृङ्खलाको एक भाग मानिन्छ। च्याट-जीपीटीको निर्माणमा धेरै समय लाग्यो र यसमा धेरै प्रविधि प्रयोग गरिएको थियो।

यस आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको द्रुत विकासको बारेमा विश्वभर धेरै चर्चा भइरहेको छ। अत्याधुनिक च्याटबोट च्याट-जीपीटी यस चर्चामा ठूलो कारण हो। एआईको बारेमा जति चर्चा हुन्छ त्यो च्याट-जीपीटीको फाइदा र बेफाइदाको बारेमा गरिन्छ, शायद कुनै अन्य च्याटबोट वा एआई उपकरणको बारेमा उस्तो हुँदैन। भर्खरै, इटलीले उन्नत च्याटबोट च्याट-जीपीटीलाई प्रतिबन्ध लगाएको छ। यस्तो गर्ने यो पहिलो युरोपेली देश बनेको छ। इटलीले यसका पछाडि गोपनीयताको चिन्ता रहेको बताएको छ।

च्याट-जीपीटी ३० नोभेम्बर २०२२ मा शुरु भएको हो। यसको शुरुवातदेखि लाखौं मानिसहरूले यसलाई प्रयोग गरेका छन्। यसको शुरुवात भएदेखि यसको प्रयोगकर्ताको सङ्ख्या २० लाख नाघेको छ। शुरु भएदेखि नै यसको नकारात्मक प्रभावबारे प्रश्न उठ्न थालेको छ। च्याट-जीपीटी धेरै गम्भीर त्रुटिहरूका साथ अगाड़ि आएको छ। च्याट-जीपीटीको गलत र भ्रामक जानकारी दिनुको कारण यो हो, यसले सन् २०२१ सम्मको डाटाको आधारमा मात्र जवाफ दिइरहेको छ। अर्कोतर्फ, धेरै विज्ञहरूका अनुसार यो रचनात्मकताको लागि सम्भावित खतरा हो। यस सम्बन्धमा साओ पाउलो विश्वविद्यालयका प्रा. मचाडो डायस भन्छन्, ‘सिर्जनशीलताको लागि असाधारण प्रतिभा चाहिन्छ, तर एल्गोरिदमको सहयोगले उत्पन्न हुने चीजहरूले मानिसको रचनात्मक हुने प्रवृत्तिलाई कम गर्नेछ। यस्तो अवस्थामा अब तपाईले कुनै पनि प्रश्नको उत्तर दिन धेरै दिमाग लगाउनुपर्दैन। यो आउँदो दिनमा जवाफ भन्दा पनि महत्वपूर्ण प्रश्न बन्नेछ।’

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको एउटा लेखमा यस्तो कृत्रिम बुद्धिमत्ता कार्यक्रमले सिकाइ, शिक्षा, डिजिटल सुरक्षा र लोकतन्त्रलाई समेत असर पार्ने सम्भावना रहेको बताएको छ।  अखबारका अनुसार पहिले कुनै व्यक्तिको विचार अब कृत्रिम रोबोट मार्फत लेखिएको तर्क हुनसक्छ। ब्राजिलको फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ता युरी लिमा भन्छन्, ‘नयाँ प्रविधिले विद्यार्थीहरूलाई साइबोर्ग (आधा मानव, आधा मेसिन)मा परिणत गर्नेछ। सामाजिक उद्यमी र अन्तर्राष्ट्रिय प्रशिक्षक अजित वरवाण्डकरले टाइम्स अफ इण्डियामा च्याट-जीपीटीबारे प्रकाशित आफ्नो लेखमा यस एआई उपकरणको प्रभावलाई लिएर शिक्षाविद्हरू निकै चिन्तित रहेको बताएका छन्। के यो मोडेल शिक्षा प्रणालीको लागि राम्रो हुनेछ? वा यो हाम्रा विद्यार्थीहरूको सोच र निर्णय गर्ने क्षमतामा सबैभन्दा विनाशकारी आक्रमण साबित हुनेछ? आफ्नो लेखमा उनी अझ लेख्छन्, ‘भारत र विदेशका विभिन्न विश्वविद्यालयहरूले आफ्नो क्याम्पसमा च्याट-जीपीटीलाई प्रतिबन्ध लगाएका छन्। उनीहरू भन्छन् यदि विद्यार्थीहरू च्याट-जीपीटीमा अत्याधिक निर्भर भए उनीहरूको स्वतन्त्र आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू बिग्रिनसक्छ। समय बित्दै जाँदा, विद्यार्थीहरूले आउट अफ द बक्स सोच्ने र मौलिक विचारहरू उत्पन्न गर्ने क्षमता गुमाउन सक्छन्।’

च्याट-जीपीटीको बारेमा भनिएको छ, यो रोजगारको लागि ठूलो खतरा साबित हुनसक्छ। ओपन च्याटबोटको अनुसार, यसले २० क्षेत्रहरूमा कामहरू प्रतिस्थापन गर्नसक्छ। यसमा डाटा एन्ट्री क्लर्क, ग्राहक सेवा प्रतिनिधि, प्रूफरिडर, प्यारालिगल, बुककीपर अनुवादक, प्रतिलिपि लेखक, बजार अनुसन्धान विश्लेषक, सामाजिक मिडिया प्रबन्धक, अपोइन्टमेन्ट शेड्युलर, टेलिमार्केटर, भर्चुअल सहायक ट्रान्सक्रिप्शनिस्ट, समाचार रिपोर्टर, ट्राभल एजेन्ट, ट्यूटर, प्राविधिक सहयोग, इमेल मार्केटर र सामग्री मध्यस्थकर्ताले सम्भावित रूपमा नियुक्तीकर्तालाई प्रतिस्थापन गर्नसक्छ। भर्खरैको विश्व आर्थिक मंचको प्रतिवेदनले मानिस र मशिनहरू बीचको टग-अफ-वार (तानातान) को प्रत्यक्ष परिणामको रूपमा २०२५ सम्ममा ८५ मिलियन रोजगारी गुमाउने बताएको छ।

च्याट-जीपीटी भनेको च्याट जेनरेटिभ प्रि-ट्रेण्ड ट्रान्सफर्मर हो। यो एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स उपकरण हो। च्याट-जीपीटीको आधिकारिक वेबसाइट chat.openai.com हो। यस मार्फत, प्रयोगकर्ताले कुनै पनि प्रश्नको जवाफ प्राप्त गर्न सक्छन्। यो पहिलो पटक सुन्दा,  यसलाई गूगल सर्च इन्जिन जस्तै लाग्छ। तर, त्यो भन्दा एकदमै फरक छ। गूगल एक सर्च (खोजी गर्ने) इन्जिन हो जबकि च्याट-जीपीटी एक उपकरण हो जसले प्रयोगकर्ताको प्रश्नको पूर्ण उत्तर दिन्छ। च्याट-जीपीटीले प्रयोगकर्ताका प्रश्नहरूको जवाफ दिन २०२१ सम्म इन्टरनेटमा उपलब्ध सबैभन्दा ठूलो डाटाबेस प्रयोग गर्दछ। यो डाटा र कम्प्युटिङ प्रविधिहरूद्वारा संचालित छ। यसले अर्थपूर्ण तरिकामा शब्दहरू सँगै राखेर जवाफहरू निर्माण गर्छ। यसको लागि, यसले शब्दावली र जानकारी मात्र प्रयोग गर्दैन, तर तिनीहरूको सही सन्दर्भमा शब्दहरू बुझेर प्रतिक्रिया पनि दिन्छ। हाल यो अङ्ग्रेजी भाषामा उपलब्ध छ। यसलाई अन्य भाषाहरूमा पनि चाँडै शुरु गर्ने काम भइरहेको छ।

      यसरी शुरु भयो च्याट-जीपीटी

इन्टरनेटमा उपलब्ध जानकारीअनुसार च्याट-जीपीटी साम अल्टम्यान र एलोन मस्कले सन् २०१५ मा एक साथ शुरु गरेका थिए। सन् २०१५ मा च्याट-जीपीटी शुरु गर्दा, यो एक गैर-लाभकारी कम्पनी थियो, तर २०१७-१८ मा, एलोन मस्कले यसलाई बीचमा छोडे़। एलोन मस्कले कम्पनी छोड़ेपछि माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले यसमा धेरै लगानी गरेका थिए। अन्ततः ३० नोभेम्बर २०२२ मा यो प्रोटोटाइपको रूपमा शुरु भयो। अल्टम्यान ओपन आर्टिफिसियल इन्टेलिजेन्सका प्रमुख हुन्।

यस एआई कार्यक्रम च्याट-जीपीटीमा एउटा विशेष सुविधा यस्तो छ, प्रयोगकर्ता च्याट-जीपीटीद्वारा उपलब्ध गराइएका जानकारीबाट सन्तुष्ट हुन्छन् वा हुँदैनन्, यदि प्रयोगकर्ताले कुनै छनोट गरे भने च्याट-जीपीटीले डाटा परिमार्जन गरी प्रयोगकर्तांलाई नयाँ डाटा दिनेछ। प्रयोगकर्ताहरूले दिएको जानकारीबाट सन्तुष्ट नभएसम्म यसले बारम्बार आफ्नो परिणाम परिवर्तन गर्छ।

च्याट-जीपीटी प्रयोग गर्न, कुनै पनि प्रयोगकर्ताले पहिले उनीहरूको आधिकारिक वेबसाइट हेर्नुपर्छ। त्यहाँ एउटा खाता सिर्जना गर्नुपर्नेछ जस पछि च्याट-जीपीटी प्रयोग गर्न सकिन्छ। हाल कम्पनीले च्याट-जीपीटी प्रयोग गर्दा कुनै शुल्क लिइरहेको छैन। जीपीटी जस्ता च्याटबोटहरू अर्थपूर्ण तरिकामा शब्दहरूलाई गाँसेर जवाफ सिर्जना गर्न ठूलो मात्रामा डाटा र कम्प्युटिङ् प्रविधिहरूद्वारा संचालित हुन्छन्। तिनीहरू शब्दावली र जानकारी मात्र प्रयोग गर्दैनन्, तर तिनीहरूको सही सन्दर्भमा शब्दहरू पनि बुझ्छन्।

गूगल र मेटा जस्ता अन्य प्रविधि कम्पनीहरूले आफ्नै भाषा मोडेल उपकरणहरू विकास गरेका छन्, जसले त्यस्ता कार्यक्रमहरू प्रयोग गरेर सोधिएका प्रश्नहरूको जवाफ दिन्छ। ओपन एआईले तयार पारेको इन्टरफेस सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रयोग गरिरहेका छन्। काम अझै चलिरहेको छ र कतिपय ठाउँमा भने चित्तबुझ्दो जवाफ नआएको पनि पाइएको छ। अहिलेको लागि, च्याट जीपीटी अङ्ग्रेजी भाषामा धेरै प्रयोग भइरहेको छ। यसले हिन्दीमा पनि काम गरिरहेको छ भने अब छिट्टै अन्य भाषाहरूमा पनि काम गर्नेछ। कतिपयको अनुभव बाँड्दै उनीहरुले जुनसुकै विषयमा लेख लेख्नसक्ने बताए। कतिपयले यस विषयमा सकारात्मक जवाफ पाएका छैनन्।

ओपन एआई कम्पनीले यो नयाँ संस्करणलाई नयाँ भाषा मोडेलको रूपमा तयार गरेको छ, जसले छविहरूलाई पनि इनपुटको रूपमा स्वीकार गर्नसक्छ। यद्यपि च्याट-जीपीटीमा पाठ्या इनपुट सुविधा मात्र उपलब्ध थियो। ओपन एआईले ल्याएको यो नयाँ संस्करणको मुख्य उद्देश्य गूगलले ल्याएको बार्ड एआई च्याटबोटलाई कड़ा प्रतिस्पर्धा दिनु र एआई बजारमा आफूलाई राम्रो प्रमाणित गर्नु हो। केहि मानिसहरू विष्वास गर्छन्, च्याट-जीपीटीको आगमन सँग, धेरै मानिसहरूले आफ्नो नोकरी गुमाउनेछन्, केहि मानिसहरू विश्वास गर्छन्, च्याट-जीपीटीले गुगल जस्तै खोज इन्जिनहरू आउँदो समयमा प्रतिस्थापन गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement