सोरेङ। सोरेङ सीनियर सेकेण्डेरी स्कूलको प्रेक्षागृहमा आज आठौं अन्तरराष्ट्रिय योगा दिवस “मानवताको निम्ति योगा’’ थिममा पालन गरियो।
कार्यक्रममा जिल्ला प्रशासनिक केन्द्र साथै सम्बन्धित विभागका अधिकारीहरू, पुलिसकर्मी अनि विद्यार्थीहरूको सहभागिता रहेको थियो।
जिल्लापाल भीम ठटालले योगामा सहभागिता जनाउनेहरूलाई सम्बोधन गर्दै अन्तरराष्ट्रिय योगा दिवसको सबैलाई बधाई एवं शुभकामना दिए। उनले योगाको महत्वबारे प्रकाश पार्दै हाम्रो दैनिक जीवनमा कसरी योगा महत्वपूर्ण छ भन्नेबारे बताए। स्वस्थ जीवनलाई यथावत राख्न दैनिक रूपमा अभ्यास गर्नुपर्ने बानी बसाउन आवश्यक रहेको बताए। उत्तम अनि स्वस्थ जीवन प्राप्तिको निम्ति आजको पाठलाई प्रोत्साहनको रूपमा लिनुपर्ने जिल्लापाल ठटालले बताए।
आजको कार्यक्रममा योगा प्रशिक्षक सुजाता तामाङ रहेकी थिइन्। फीट इण्डिया मोबाइल एप्समार्फत कोही पनि इच्छुक व्यक्तिले स्वास्थ्य सम्बन्धी प्रशिक्षकबाट जानकारी लिनसक्ने कार्यक्रममा सूचित गरियो।