कोलकाताः पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लान्तर्गत एगराको खादीकुल क्षेत्रमा अवस्थित एक अवैध पटाका कारखानामा विस्फोट भएकोले तीनजनाको मृत्यु भएको छ। विस्फोटमा चारजना गम्भीर रूपमा घाइते भएका छन् जसलाई अस्पतालमा भर्ती गराइएको छ। पूर्व मेदिनीपुरका जिल्ला पुलिस अधीक्षक अमरनाथले “हिन्दुस्थान समाचार”-लाई बताए, जुन ठाउँमा विस्फोट भएको छ त्यो ओडिशाको सीमानामा जोड़िएको क्षेत्र हो। त्यहाँ पटाका बनाउने काम भइरहेको थियो। अहिलेसम्ममा तीनजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। केही घाइते भएका छन्। घटनाको जाँच भइरहेको छ। तथापि पुलिस अधीक्षकले पटाका कारखाना अवैध हो या वैध त्यसबारे जानकारी दिन भने अस्वीकार गरे।
पुलिस सूत्रले बताए, मंगलवार दिउँसो स्थानीय मानिसहरूले अचानक तीव्र विस्फोटको आवाज सुने। घटनास्थलमा पुगेर हेर्दा कारखानाको छानो ध्वस्त भएको, तीन शवका टुक्राहरू सड़कमा यत्रतत्र छरिएको र अन्य चारजना जलेको अवस्थामा चिच्याइरहेको मानिसहरूले देखे। घटनास्थलमा पुगेको पुलिसले सबै घाइतेहरूलाई अस्पतालमा भर्ती गरायो। अर्कोतिर एगरा थानाको पुलिसले घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेको छ। विस्फोटपछि पटाका कारखानामा लागेको आगोलाई निभाउन अग्निशमन विभागका वाहनहरू घटनास्थलमा पुगे। आगोले छेवैको झोपड़ीलाई पनि आफ्नो चपेटमा लिएको छ। यहाँ पटाका कसले र कसरी बनाइरहेको थियो तथा पुलिसले के गरिरहेको थियो यी सबै प्रश्नहरू घटनापछि उठेका छन्। कारखाना मालिकलाई पनि पुलिसले खोजिरहेको छ।
उल्लेखनीय छ कि गत वर्षको दिसम्बरमा पनि काँथीको भगवानपुर दुई नम्बर ब्लकको भूपति नगर थाना अन्तर्गत अर्जुन नगर ग्राम पञ्चायत क्षेत्रमा यसरी नै एउटा पटाका कारखानामा विस्फोट भएको थियो। उक्त घटनामा एकजना तृणमूल नेता सहित तीनजनाको मृत्यु भएको थियो। दक्षिण २४ परगनामा पनि यस किसिमका घटनाहरू प्राय घटिरहन्छन्।










