सिलगढी: आठरोखाई ग्राम पञ्चायतको काममा अनियमितता भएको आरोप लगाउँदै भाजपा आठरोखाई मण्डलले बीडीओलाई ४ बुँदे मागको समर्थनमा ज्ञापनपत्र बुझायो। मङ्गलबार माटिगढाको बीडीओ कार्यालय अगाडि विरोध प्रदर्शनसँगै आठरोखाई ग्राम पञ्चायतमाथि विभिन्न आरोप लगाएर बीडीओलाई ज्ञापनपत्र पनि दिइएको थियो। घटनालाई लिएर बीडीओ कार्यालय परिसरमा पुलिस परिचालन गरिएको थियो। पोखरी उत्खननमा भएको अनियमितता, खानेपानी समस्या, पाइपलाइन कामलगायतका ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको थियो। कार्यक्रममा भाजपा आठरोखाई मण्डलका अध्यक्ष सुभाष घोष र पञ्चायत समितिका विपक्षी नेता मानवेन्द्र सिन्हालगायत भाजपा नेताहरू उपस्थित थिए।