सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा सिलगढीको भक्तिनगर थानाको पुलिस र सिलगढी महानगरीय पुलिसको विशेष कार्य समूहले सिलगढीको पीसी मित्तल बस स्ट्यान्ड क्षेत्रमा छापा मारेर २ सय ९० ग्राम ब्राउन सुगर र नशालु चक्कीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूको नाम हाजिकुल शेख र मोहम्मद नूर आलम रहेको छ। पुलिस स्रोतअनुसार पक्राउ परेका हाजिकुल शेख मुर्शिदाबाद जिल्लाका र मोहम्मद नूर आलम सिलगढीको आदर्श नगर क्षेत्रका बासिन्दा हुन्। पुलिस स्रोतअनुसार पक्राउ परेका हाजिकुल शेख नूर आलमलाई ब्राउन सुगर र लागूऔषध बेच्न मुर्शिदाबादबाट सिलगढी आएका थिए। तर पुलिसको पूर्वसूचनाका कारण पुलिस घटनास्थल पुगेर दुवैलाई रंगेहात पक्राउ गरेको थियो। उनीहरूको साथबाट दुई थान मोबाइल बरामद गरिएको छ। यसबाहेक पुरानो कार पनि पुलिसले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई मंगलबार जलपाइगढी अदालतमा पठाइनेछ।