भारतीय गोर्खा परिसंघद्वारा खरसाङमा सांगठनिक कार्यशाला सम्पन्न

IMG-20230514-WA0250.jpg

भागोपले के गरे होइन तर भागोपको लागि र जातिको लागि आफुले के गरे त्यो महत्वपूर्ण हो: आकाश लामा

खरसाङ: भारतीय गोर्खा परिसंघद्वारा खरसाङमा सांगठनिक कार्यशाला सम्पन्न गरिएको छ। उक्त कार्यशाला भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समिति र अन्य शाखा कमिटीहरूद्वारा आयोजना गरिएको छ। उक्त कार्यशाला खरसाङको गोर्खा जनपुस्ताकालय भवनको पारसमणि प्रधान प्रेक्षागृहमा भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समितिको सभापति सहदेव चामलिङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यशालालाई भारतीय गोर्खा परिसंघको राष्ट्रीय सह कोषाध्यक्षा देविका मंग्राती राई र खरसाङ आञ्चलिक समितिको सचिव तारा छेत्रीद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण खरसाङको सह सचिव मिना लामा राईद्वारा राखिएको थियो। उक्त कार्यशालामा भारतीय गोर्खा परिसंघको सांगठनिक गतिविधि र यसको उद्देश्य अनि कार्यहरू विषयमा वक्ताहरूले जानकारी गराएका छन्। कार्यक्रममा भागोप राष्ट्रिय सह कोषाध्यक्षा देविका मंग्राती राईले भागोप खरसाङ आञ्चलिक कमिटीको सांगठनिक गतिविधि र यसको कार्यहरू र अहिलेसम्म गरेको विभिन्न कार्यहरू विषयमा जानकारी गराएका छन्। त्यसरी नै कार्यशालामा असमबाट आएका भारतीय गोर्खा परिसंघको राष्ट्रीय सांगठनिक सचिव बिमल प्रधानले भारतीय गोर्खा परिसंघको अवधारणा र उद्देश्यहरू विषयमा प्रोजेक्टरमार्फत् जानकारीमुलक प्रस्तुति दिएका थिए। उनले भागोपको सदस्य सदस्याहरू कुनै पनि राजनैतिक दलसित सम्बन्धित छैनन् र यदि कोही छन् भने अदृश्य रूपमा हुनसक्छ भनी बताएका छन्। प्रधानले भागोपको विषयमा भने, भागोपले आफ्नो स्थापना दिवस 6 अप्रेल, 20 अगस्टमा भाषा मान्यता दिवस, 25 अगस्तमा बलिदान दिवस पालन गर्ने गरेको बताउँदै हामी भारतमा रहेका गोर्खाहरू सबै युनाइटेट हुनुपर्छ तब मात्र हाम्रो एकता सबैले देख्छ।’
उक्त कार्यशालामा भागोप जोन दुईको अध्यक्ष आकाश लामाले भागोपको संगठन, संरक्षण, गठन, विस्तार र युवामाथि वक्तव्य राखेका थिए। उनले भागोपले के गरे होइन तर भागोपको लागि र जातिको लागि आफुले के हरे त्यो महत्वपूर्ण रहेको बताएका छन्। आकाश लामाले भने, यहाँको नेताहरूले एनआरसीले यहाँको फर्सी, इस्कुसलाई पनि भेट्दैन भनी भन्छन् तर आसाममा हामीले भोगेका छौं। भागोपले आसाममा एनआरसीमाथि कार्य गरेको छ।’ उनले अघि भने, भारतमा गोर्खाहरूलाई सधैं विदेशीको लाञ्छाना लाग्ने गर्छ त्यसैले हामी सबै एकबध्द हुन आवश्यक छ। यसै सन्दर्भमा भागोप दार्जिलिङले चाढ़ै वाइट पत्र जारी गर्नेछ।’
अाकाश लामाले आफ्नो वक्तव्यमा आगामी सेप्टेम्बर महिनामा सिक्किममा भागोपको राष्ट्रीय अधिवेशन हुने भएको जानकारी गराउँदै भागोपले दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने भएको जानकारी गराएका छन्। उनले आज खरसाङमा भएको सांगठनिक कार्यशाला सफल र फलदायक रहेको छ र अब खरसाङले पनि राष्ट्रीय अधिवेशन आयोजना गर्दा हुन्छ भनी बताएका छन्। कार्यशालामा भागोपको राष्ट्रिय उपाध्यक्ष यम घिमिरे, राष्ट्रीय महासचिव अभय खालिङ आदिले पनि वक्तव्य राखेका थिए। वक्ताहरूले आफ्ना वक्तव्यहरूमा भारतीय गोर्खा परिसंघको सांगठनिक गतिविधि, उद्देश्य, कार्यहरू र भारतीय गोर्खाहरूका लागि भागोप किन महत्वपूर्ण छ भनी जानकारी गराएका थिए। कार्यक्रममा भारतीय गोर्खा परिसंघ विषयमा उपस्थितिहरूसित अन्तरक्रिया पनि गरिएको थियो। कार्यक्रममा भागोप खरसाङ आञ्चलिक कमिटीको कोषाध्यक्षा सरोजनी देवानले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा खरसाङ आञ्चलिक कमिटीको अन्तर्गत विभिन्न शाखाहरूबाट भागोपको प्रतिनिधिहरू उपस्थित रहेका थिए। भारतीय गोर्खा परिसंघको सांगठनिक कार्यशाला विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप खरसाङ आञ्चलिक कमिटीको अध्यक्ष सहदेव चामलिङले आजको भागोपको सांगठनिक कार्यशाला सफल र फलदायी रहेको बताएका छन्। उनले आज कार्यशालामा राष्ट्रीय वक्ताहरूले भागोप खरसाङले पनि राष्ट्रीय अधिवेशन आयोजना गर्ने सुझाव दिएको विषयमा बोल्दै यस विषयमा आगामी दिनमा चर्चा परिचर्चा गरिने जानकारी गराएका छन्।

त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै राष्ट्रीय सह कोषाध्यक्षा एंव खरसाङ आञ्चलिक कमिटीको पूर्व सचिव देविका मंग्राती राईले आजको भागोपको कार्यशाला राम्रो भएको अनि भागोपले वर्तमान समयमा गरिरहेको सांगठनिक गतिविधिहरू र कार्यहरू विषयमा वक्ताहरूले आफ्नो सम्बोधनमा बताएको जानकारी गराएका छन्। उनले अहिलेसम्म खरसाङ आञ्चलिक कमिटीद्वारा के के गरेको छ त्यसको विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्। उनले भारतमा रहेको हरेक गोर्खा भारतीय गोर्खा परिसंघको सदस्य हुन आवश्यक रहेको बताउँदै सबैलाई जातिको लागि कार्य गर्नलाई भागोपको सदस्यता ग्रहण गरिदिने निवेदन पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement