गान्तोक: सिक्किम भ्रमणमा आएका केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुबास सरकारले आज आसमलिङजे निवासी तुलाराम उप्रेतीसँग भेट गरे। मन्त्री सरकारले पद्मश्री पुरस्कारले सम्मानित तुलाराम उप्रेतीलाई आसमलिङजे स्थित उनको निसी निवासमा भेट गरेका हुन्। उल्लेखनीय छ, गत २५ जनवरीको दिन भारत सरकारले कृषि क्षेत्रमा तुलाराम उप्रेतीलाई पदम्श्री पुरस्कार प्रदान गरिने घोषणा गरेको थियो। यसरी नै गत २२ मार्चको दिन दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने व्यक्तित्तवहरूलाई उक्त पुरस्कार प्रदान गरियो। तर ९६ वर्षीय तुलाराम उप्रेती भने स्वास्थ्यको कारण पुरस्कार ग्रहण समारोहमा उपस्थित हुन् सकेनन्।यसर्थ उनलाई उक्त पुरस्कार राज्य सरकारले कुनै एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिने भएको छ। भ्रमणको क्रममा मन्त्रीले उप्रेतीसँग कुराकानी गरेको र भेटघाट फलदायक रहेको बताएका छन्।

विशेष गरेर भेटको क्रममा उनीहरूले सिक्किममा शुरू गरिएको जैविक खेती सम्वन्धि पनि चर्चा परिचर्चा गरेको जैविक उत्पादनमा देखापर्ने चुनौती र यसको प्रभावबारे पनि छलफल गरियो। तुलाराम उप्रेतीको नवीन प्रविधि र कृषिप्रतिको योगदान साथै प्रतिबद्धताले राष्ट्रियस्तरमा मान्यता प्राप्त भएको छ, जसको कारण देशभरिका किसानहरूका लागि प्रेरणा उनी प्रेरणाको स्रोत बनेका छन्। भ्रमणको क्रममा मन्त्रीसँग सिक्किम विधानसभाका अध्यक्ष अरूण कुमार उप्रेती, विधायक वाइटी लेप्चा, पाकिम निर्वाचन क्षेत्रका जिल्लापाल टाशी छोपेल लगायत अन्यहरू पनि सामेल रहेका थिए।