गेजिङः डा. भुषण शर्माद्वारा आयोजित दुई दिवसीय निःशुल्क मेगा स्वास्थ्य शिविरको आज समापन भयो। दुई दिवसीय शिविरमा २१ हजारभन्दा अधिकले यसको लाभ उठाएको जानकारी गराएको छ। पेमा रिञ्जिङ लामा वरिष्ठ माध्यमिक विद्यालय र महात्मा सिरिजङ्गा वरिष्ठ माध्यमिक विद्यालयमा आयोजित यस दुई दिवसीय स्वास्थ्य शिविरमा निःशुल्क उपचार गरिएको थियो। यो शिविर डा. शर्मका माता पिताको नाममा आयोजना गरिएको बताइएको छ।
उनले पत्रकारहरूसँग कुराकानी गर्दै हामीले समाजको सेवा गर्दा जे पाएका छौं, त्यो समाजलाई नै फिर्ता दिनु पर्छ भनी बताए। उनले आफ्नो क्षमताले समाजको सेवा गर्न सबैलाई आग्रह गर्दै प्रतिष्ठित अस्पतालमा जान नसक्ने विपन्न बिरामीको घरदैलोमा स्वास्थ्य सेवा पुऱ्याउने उद्देश्यले निःशुल्क मेगा स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए।
यस दुई दिने निःशुल्क मेगा स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक, न्युरोलोजी, नेत्ररोग विशेषज्ञ, अर्थोपेडिक्स, ईएनटी, कार्डियोलोजी, ग्यास्ट्रोएन्टेरोलॉजी, स्त्री रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, दन्त, सामान्य औषधि र सामान्य शल्यक्रियाका विशेषज्ञहरूबाट बिरामीको जाँच तथा परीक्षण गरिएको थियो। यस दुई दिवसीय मेगा स्वास्थ्य शिविरमा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङले भ्रमण गर्दै रोगीहरूसँग कुराकानी गरिन्।