यसपल्टको चुनाउमा जनताको आवाज बनेर खड़ा भएको छु: सुवास छेत्री
खरसाङ: जीटीए चुनाउमा खरसाङको ३० नम्बर अम्बटे-पंखाबारी-लंगभ्यू समष्टिबाट स्वतन्त्र उम्मेद्वारको रूपमा खड़ा भएका पत्रकार सुवास छेत्रीले आफ्नो समष्टिभित्रमा मतदाताहरूसँग भेट गरेर आफू चुनाउमा खड़ा हुनुको उद्धेश्यबारे जनाइ रहेका छन् एंव भोटको निम्ति अपिल गरिरहेका छन्। तिनले आफूले जितेर गएको खण्डमा कुनै पार्टी अनि नेताको रिमोर्ट कन्ट्रोल भएर होइन तर जनताको रिमोर्ट कन्ट्रोल भएर जनताको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

छेत्रीले अब कमान बस्तीका मानिसहरूले सचेत भएर भोट गर्नुपर्ने अपिल गर्दै तिनी यसपल्टको चुनाउमा जनताको आवाज बनेर खड़ा भएको जनाए। अब झूटको राजनीतिबाट टाढ़ा रहेर सत्यको साथ दिँदै निष्पक्ष अनि स्वतन्त्र रूपमा कार्य गर्ने व्यक्तिलाई नै आफ्नो क्षेत्रबाट चुनेर पठाउनु पर्ने छेत्रीले अवगत गराए। तिनले आफू चियाबारी अनि बस्ती क्षेत्रका शोषित, पीड़ित र हेलित जनताको आवाज बनेर चुनाउमा खड़ा भएको जनाए। यदि आफूले जितेर गएको खण्डमा सोझै जनतासँग सम्पर्क हुने कुनै पनि नेता वा पार्टीको अनुमति लिन नपर्ने छेत्रीले जनाए।