काठमाडौं: नेपालमा चीन संलग्न रहेको दुई अन्तर्राष्ट्रिय विमानस्थलले संकट ल्याउने देखिएको छ। भैरहवाको गौतम बुद्ध विमानस्थल र पोखराको विमानस्थल अर्बौं रुपियाँ खर्च गरेर बनाएपनि राम्ररी सञ्चालनमा आउन सकेको छैन। गौतम बुद्ध विमानस्थलमा जजिरा एयरलाइन्सले हवाई सेवा प्रदान गरेपनि नियमित हुनसकेको छैन। उसले फेरि विविध कारण देखाएर विमान सञ्चालन रोकेको छ। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको छैन। जबकि यो विमानस्थलको पनि उद्घाटन भइसकेको छ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल ७६ मिलियन डलरमा निर्माण भएको हो। १६ मई २०२२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा यो विमानस्थलको शिलान्यास गरेका थिए। तर, प्रधानमन्त्री मोदीले यो विमानस्थल प्रयोग गरेनन्। एशियाली विकास ब्याङ्क र ओपेक फन्ड फर इन्टरनेशनल डेभलभमेन्टको ऋणमा चीनको नर्थवेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गौतम बुद्ध विमानस्थल निर्माण गरेको हो। यसलाई चीनको हिमालय क्षेत्रमा ठूला पूर्वाधार आयोजनाको एउटा भागका रुपमा लिइएको छ। चीन संलग्न भएको पोखरा विमानस्थल १ जनवरी, २०२३ मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे। तर, उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। चीनले यो विमानस्थललाई बीआरआईअन्तर्गत भनेपछि विवाद निस्किएको छ। पोखरा विमानस्थल निर्माणका लागि चीनको एक्जिम ब्याङ्कसँग २१५ मिलियन ऋण सम्झौता २०१६ मा भएको थियो। यसको लागत ३०५ मिलियन डलर उल्लेख छ। चिनियाँ कम्पनी सीएएमसीईले निर्माण गरिएको पोखरा विमानस्थलको लागत बढी भएको विषय जोडतोडले उठेको छ।
नेपालका वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा विमानस्थलको लागत यथार्थपरक नभएको भन्दै बारम्बार बोलेका थिए। गौतम बुद्ध विमानस्थलभन्दा पोखरा विमानस्थलको लागत चार गुणाले बढी छ। नेपालमा त्रिभुवन विमानस्थल बाहेक थप दुई अन्तर्राष्ट्रिय विमानस्थल बनेका छन्। त्यसमध्ये पोखरामा अन्तर्राष्ट्रिय उडान नै सञ्चालनमा आएको छैन। भैरहवामा उडान भएपनि नियमित छैन। यसबाट विमानस्थलहरु खर्चालु भई आर्थिक संकट बढाउने खतरा देखिदैछ। विमानस्थलहरु सञ्चालनमा नआउनुमा भारतले हवाई रुट उपलब्ध नगराउनु हो भनी उठाइएको छ। भारत भ्रमणमा जाँदा हवाई रुटको कुरा गर्ने तयारी नेपालले गरेपनि प्रधानमन्त्री प्रचण्डको भ्रमण नै अनिश्चित भएको छ। -हिस