मुम्बई: नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)-का पूर्व जोनल डाइरेक्टर समीर वानखेड़ेको मुम्बईस्थित आवासमा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) टीमले लगातार १३ घण्टासम्म छापामारीको कारबाही गऱ्यो। सीबीआईका बाह्रजना अधिकारीहरूको एउटा टीमले गएको शुक्रबार साँझ लगभग साढ़े चार बजे समीर वानखेड़ेको गोरे गाउँस्थित आवासमा आएर कारबाही शुरू गरेको थियो भने शनिबार बिहान साढ़े पाँच बजे कारबाही समाप्त भयो। सीबीआईले वानखड़ेको घरबाट एउटा पिन्ट्ररसहित महत्वपूर्ण कागज-पत्रहरू जफ्त गरेको छ। यद्यपि सीबीआईले उक्त कारबाहीको जानकारी अहिलेसम्म मीडियासित साझा गरेको छैन।
वास्तवमा सीबीआईले समीर वानखड़ेसहित चार व्यक्तिहरूविरूद्ध गए शुक्रवार भ्रष्टाचारको मामिला दर्ता गरेको थियो। त्यसपछि सीबीआई टीमले देशभरिमै २९ ठेगानाहरूमा छापामारीको कारबाही शुरू गरेको थियो। यसै क्रममा वानखड़ेको घरमा पनि शुक्रबार साँझदेखि छापामारी गरिएको थियो, जुन आज शनिबार बिहान समाप्त भएको छ।
समीर वानखड़ेको नेतृत्वमा एनसीबी टीमले २ अक्टुबर, २०२१ मा मुम्बईदेखि गोवा गइरहेको कार्डिलिया क्रूजमा छापामारी गरेको थियो। यस अवधि अभिनेता शाखरूख खानका छोरा आर्यन खानलाई मादक पदार्थ राखेको आरोपमा पक्राउ गरिएको थियो। यस छापामारीमा पक्राउ परेका अन्यलाई समीर वानखेड़ेको टीमले रिहा गरिदिए पनि आर्यन खानको रिहाईको सट्टा रुपियाँको माग गरेको आरोप लगाइएको थियो। आरोपअनुसार त्यसताक आर्यनमाथि मामिला दर्ता नगर्नको लागि २५ करोड़ रुपियाँको माग गरिएको थियो भने ५० लाख रुपियाँ आर्जन गरिएको थियो। तथापि आर्यनलाई पछि प्रमाणहरूको अभावमा जमानतमा रिहा गरिएको थियो। यी आरोपहरूको जाँचबुझको लागि एनसीबीले एसआईटी गठन गरेको थियो। एसआईटी जाँचमा समीर वानखड़ेको टीमले भ्रष्टाचार गरेको कुरा उजागार भएपछि सीबीआईले यसै आधारमा समीर वानखेड़े सहित चार मानिसहरूविरूद्ध मुद्दा दर्ता गराएको छ। -हिस









