१३ मईः पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले आउँदो आईसीसी वनडे वर्ल्ड कप अघि शनिवार ग्राण्ट ब्राडबर्नलाई पाकिस्तान पुरुष क्रिकेट टीमका मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। ब्राडबर्नलाई दुई सालको अनुबन्ध दिइएको छ। यसअघि उनलाई न्यूजील्याण्ड विरुद्ध पाकिस्तानको होम सीरीजको निम्ति अप्रेलमा अन्तरिम प्रशिक्षक नियुक्त गरिएको थियो। पाकिस्तानले न्यूजील्याण्ड विरुद्ध टी२० र वनडे दुवै सीरीज जितेको थियो। पीसीबी-ले गत महिना एउटा प्रेस विज्ञप्ति जारी गरी सात मईमा न्यूजील्याण्ड विरुद्ध सीरीज समाप्त भएपछि स्थायी रूपमा मुख्य प्रशिक्षक नियुक्त गर्ने जानकारी दिएको थियो। बोर्डले एण्ड्र्यू पुटिकलाई ब्याटिंग प्रशिक्षक, उमर गुललाई बलिंग प्रशिक्षक अनि अब्दुल रहमानलाई ब्राडबर्नको सहायक प्रशिक्षक नियुक्त गरेको छ। न्यूजील्याण्डका पूर्व क्रिकेटर ब्राडबर्नले यसअघि २०१८-मा पाकिस्तान टीममा फील्डिंग प्रशिक्षकको काम गरेका थिए। उनले टीमको उच्च प्रदर्शन प्रमुखको रूपमा पनि काम गरेका थिए। पीसीबीद्वारा जारी बयानमा ब्राडबर्नले भनेका छन्, पाकिस्तान जस्तो एकदमै प्रतिभाशाली र कुशल टीमसँग मुख्य प्रशिक्षकको रूपमा काम गर्नु मेरो निम्ति ठूलो सम्मानको कुरा हो। हामी आफ्नो खेललाई अघि बढ़ाउन कठोर मेहनत गरिरहेका छौं। हामी यस टीमको साथ सफलताको नयाँ उँचाईलाई हासिल गर्न चाहन्छौं।