सिलगढी: सिक्किमको तीनदिने भ्रमणको लागि भारत सरकारका केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकार आज बाघडुग्रा एयरपोर्टमा अवतरण गरेपछि तिनलाई सिक्किम सरकारको शिक्षा विभागका संयुक्त निर्देशक थुप्डेन भुटिया र प्रोटोकल युनिट, सिलगढीका अधिकारीहरूले स्वागत जनाए। केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकारसित राज्यमन्त्रीका पीए शानु कुण्डु र सब्यसाची चक्रवर्ती पनि उपस्थित थिए। यसपछि बाघडुग्राबाट कठोर सुरक्षा व्यवस्थाबीच वाहनमा सवार भएर सडक मार्ग हुँदै तिनी सिक्किम प्रस्थान गरे।
प्राप्त जानकारी अनुसार केन्द्रीय शिक्षा राज्यमन्त्रीले आज १३ मईदेखि १५ मईसम्म सिक्किमको भ्रमण गर्ने भएका छन्। तिनले केन्द्रीय सरकारका सबै योजनाहरूबारे राज्यका उपायुक्त र अन्य जिल्ला अधिकारीहरू, स्थानीय सांसद तथा सिक्किमका विधायकहरूसँग भिनन-भिन्नै समीक्षा बैठक गर्नेछन्। यसको साथै तिनले केन्द्र सरकारको विभिन्न योजनाका लाभार्थीहरूसँग डीसी अफिस, गान्तोक सिक्किममा डेपुटी कमिश्नर र अन्य जिल्ला अधिकारीहरूसँग पनि अन्तरक्रिया गर्नेछन्। यसको साथै तिनले आधिकारिक प्रतिबद्धताको लागि पाक्योङ जिल्लाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।