नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टीईएसएस) ले अन्तरिक्षमा बहुग्रह प्रणाली पत्ता लगाएको छ। यो प्रणाली पृथ्वीबाट ३३ प्रकाश वर्ष मात्र टाढा छ। यसमा दुईवटा पृथ्वीको आकारका ग्रह छन्। यस बहुग्रह प्रणालीको केन्द्रमा एचडी २६०६५५ नामक सानो र चिसो एम-ड्वार्फ तारा रहेको छ। एमआइटीका खगोलविद्हरूले यसमा दुईवटा पृथ्वी आकारका ग्रहहरू पनि रहेको बताएका छन्। शोधकर्ताहरू भन्छन्, ‘यी ग्रहहरू बस्न योग्य छैनन्, किनभने तिनीहरूको कक्ष धेरै साँघुरो छ, जसका कारण ग्रहको तापक्रम उच्च छ। उच्च तापक्रमका कारण सतहमा पानी छैन। पहिलो ग्रह एचडी २६०६५५बी हो जसले हरेक २.८ दिनमा ताराको परिक्रमा गर्छ। यो पृथ्वी भन्दा लगभग १.२ गुणा ठूलो छ। बाहिर रहेको दोस्रो ग्रह एचडी २६०६५५ हो। यसले हरेक ५.७ दिनमा ताराको परिक्रमा गर्छ। यो पृथ्वी भन्दा १.५ गुणा ठूलो छ। यसबाहेक यी दुवै ग्रह चट्टानजस्तै भएको पनि पत्ता लागेको छl’
बहुग्रह प्रणालीको खोजबाट वैज्ञानिकहरु निकै उत्साहित छन्। यस प्रणालीले पृथ्वी वरपरका क्षेत्रहरूलाई अझ राम्ररी बुझ्न मद्दत गर्ने वैज्ञानिकहरूको विश्वास छ। क्यालिफोर्नियाको पासाडेनामा भएको अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको बैठकमा वैज्ञानिकहरूले खोजको नतिजाको व्याख्या गर्नेछन्। अनुसन्धान टोलीका सदस्य मिशेल कुनिमोटो भन्छिन्, ‘यस प्रणालीमा रहेका दुवै ग्रहहरूलाई तिनीहरूको ताराहरूको चमकका कारण वायुमण्डलीय अध्ययनका लागि उत्तम लक्ष्य मानिएको छ। वैज्ञानिकहरूले अब यी ग्रहहरू वरपरको वातावरण कस्तो छ, त्यहाँ पानी छ वा यहाँ कार्बन आधारित प्रजातिहरू छन्, लगायतका प्रश्नहरूको जवाफ खोज्न अध्ययन गर्नेछन्l’