हामी चौरास्तालाई बचाउनु र हकर्सहरूका समस्या समाधान गर्न चाहान्छौं: अनित थापा
दार्जिलिङ: दार्जिलिङमा भएको जी-२० को सम्मेलन अवधि दार्जिलिङको माल रोडलाई खुल्ला राख्नलाई त्यहाँ राखिएको महाकाल मार्केट हटाइएको थियो। उक्त मार्केट आजदेखि दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा परिसरमा अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ। गोर्खा रंगमञ्च भवनमा राखिएको उक्त नयाँ महाकाल मार्केटको उदघाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ। जी-२० को समय माल रोडबाट हटाइएको महाकाल मार्केटलाई सधैंको लागि हटाएर खुल्ला राखिनु पर्ने मांग दार्जिलिङका जनताले गरेका थिए भने विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले पनि उक्त माग गरेका थिए।

सोही अनुरुप दार्जिलिङ नगरपालिका र जीटीए प्रशासनले माल रोडबाट हकर्सहरूलाई स्थायी रूपमा हटाएका थिए भने उनीहरूको समस्या समाधानको लागि जीटीए र दार्जिलिङ नगरपालिकाले नयाँ महाकाल मार्केट गोर्खा रंगमञ्च भवनमा अस्थायी रूपमा सञ्चालनमा ल्याएका छन्।

उक्त नयाँ महाकाल मार्केटको उदघाटन गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चिफ् अनित थापाले भने, हामीले चौरास्तालाई बचाउनु थियो जसको सबैले मांग गरिरहेका थिए तर हामीले हकर्सहरूका समस्या समाधान गर्नु पनि थियो कारण उनीहरूका रोजगार पनि खोस्नु हुँदैन। त्यसैले हामीले अहिलेलाई अस्थायी रूपमा महाकाल मार्केट गोर्खा रंगमञ्च भवनमा सञ्चालनमा ल्याएका छौं।’ उनले अघि भने, यो मार्केट गोर्खा रंगमञ्च भवनमा अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो अनि हकर्सहरूलाई स्थायी रूपमा चौरास्ताको मुनिट्टि राख्नलाई कार्य गरिनेछ र यसको लागि डीपीआर तयार भईरहेको छ। हामी चौरास्तालाई बचाउनु र यसको सुन्दरीकरणको कार्य पनि गर्नेछौं अनि हकर्सहरूका समस्या समाधान गर्नु पनि चाहान्छौं।’