एसटीएनएम अस्पतालमा पालन गरियो अन्तरराष्ट्रिय नर्स दिवस

f011a704-ebbc-40e2-bbb2-8229e0f4a6c0.jpg

गान्तोकः सोच्यागाङको नयाँ एसटीएनएम अस्पतालको प्रेक्षागृहमा आज अन्तरराष्ट्रिय नर्स दिवस पालन गरियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका सामाजिक न्याय एवं कल्याण विभागका मन्त्री सञ्जीत खरेल उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले वर्तमान सरकारले स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आइरहेको छ भनी बताए। आजको यस कार्यक्रममा मुख्यमन्त्री स्वयं उपस्थित हुने तय भएको थियो, तर उनी एक जरुरी काम लिएर गुवाहाटी जानु पर्ने भएकाले उपस्थित हुन नसकेको जानकारी गराए।

मुख्यमन्त्री तामाङ यस अस्पतालका अधिकारीहरूलाई लिएर सँधै चिन्तित रहने गरेको अवगत गराउॅंदै सरकारले अस्पतालका अधिकारीहरूको हितमा धेरै कुरा सोचेको बताए। आगामी ३१ मईको दिन पुरस्कार वितरण समारोह आयोजना गरिने उनले जानकारी गराए। उक्त दिन विशेष गरेर मुख्यमन्त्री स्वयं उपस्थित भएर दिनरात आफ्नो कार्यमा समर्पित भएर काम गर्ने नर्स र डाक्टरहरूलाई पुरस्कार प्रदान गर्ने बताए। पुरस्कृत बन्ने नर्स र डाक्टरहरूको छनौट अस्पतालबाट नै हुने पनि उनले थप जानकारी गराए। कहिले काहिं यस अस्पतालका नर्सेस साथै डाक्टरहरूमाथि विभिन्न प्रकारको लाञ्छना लगाउने गरिएको र उक्त कुराहरू सामाजिक सञ्जालमा आउने गरेकोमा उनले चिन्ता व्यक्त गरे। जसले समाज र देशको हितमा काम गर्छन्, उनीहरूको खुट्टा तान्न धेरैजना पछि परेको हुनाले त्यस्ता कुराहरूको वास्तव नगरी आफ्नो कार्यलाई निरन्तरता दिनु पर्ने उनले आग्रह गरे।

काम गर्ने मान्छेको नै सबैले आलोचना गर्दछन् भने काम नगर्नेहरूको पछि कोही पनि नलाग्ने गरेको मन्त्रीले बताए। राज्यका सम्पूर्ण चिकित्सकहरूको पक्षमा राज्य सरकार सदैव साथमा रहेको छ भन्दै कसैले के भन्यो भनेर मन खिन्न नबनाउने उनले सुझाउ दिए। उनले फ्लोरेन्स नाइटिङ्गेल जस्तो जहाँ गएर पनि काम गर्ने मानसिकता चिकित्सकहरूले बनाउनु पर्ने उनले बताए। स्वास्थ्यकर्मीहरूको समर्पित भावनाका कारण कोरोनाको महामारीमा पनि राज्यका जनताले अन्य राज्यको जस्तो दुःख कष्ट नपाएको मन्त्री खरेलले आफ्नो सम्बोधनमा उल्लेख गरे। यसै क्रममा स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो भोटियाले समाजमा नर्सहरूको अह्म भूमिका रहेको बताए। यदि यहाँका मानिसहरूले काम गरेनन् भने सिक्किमको स्वास्थ्य क्षेत्रमा सुधार आउन नसक्ने पनि उनले बताए। वितका केही घटनाहरूलाई स्मरण गर्दै सचिव ग्याछोले कहि कतै केही भूलहरू अस्पतालको पक्षबाट पनि भएको हुन सक्ने उनले सम्भावना व्यक्त गरे। आजको कार्यक्रममा उनले कोभिडको समयमा रोगीहरूको सेवा गर्ने क्रममा ज्यान गुमाउने नर्स बसन्ती सुन्दासको पनि स्मरण गरे। यस अवसरमा सेवानिवृत नर्सहरूलाई अभिनन्दन जनाइयो। यस अवसरमा विभिन्न विभागका नर्सहरूले गीत, नृत्य प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement