नयाँ दिल्लीः महिला पहलवानहरूद्वारा लगाइएका यौन शोषणका आरोपहरूको सामना गरिरहेका भारतीय कुश्ती संघका अध्यक्ष एवं भाजपा सांसद बृजभूषण शरण सिंहले शुक्रवार पुलिस समक्ष आफ्नो बयान दर्ता गराए। यस मामिलाको जाँचको निम्ति छः पुलिस अधिकारीहरूको एउटा विशेष जाँच दल (एसआईटी) गठन गरिएको छ। जाँच दलमा चार महिला पुलिस अधिकारीहरू सामेल छन् भने पुलिस उपायुक्त (डीसीपी) स्तरका अधिकारीहरूको निगरानीमा मामिलाको जाँच भइरहेको छ।
पुलिसका एक वरिष्ठ अधिकारीले बताए, बृजभूषण शरण सिंहले एसआईटी समक्ष बयान दिँदै भनेका छन्, उनीमाथि लगाइएका सबै आरोपहरू आधारहीन छन्। चाँड़ै नै उनले आफ्नो समर्थनमा केही भीडियो अनि कल रेकर्डहरू पेश गर्नेछन्। आफूविरूद्ध सुनियोजित षड़यन्त्र अन्तर्गत एजेण्डा चलाइएको जसमा केही राजनीतिक दलका मानिसहरू सामेल रहेको आरोप सिंहले लगाएका छन्। उल्लेखनीय छ, सबै पीड़ित पहलवानहरूको बयान पनि शुक्रवारै सीआरपीसीको धारा १६४ अन्तर्गत दर्ता गरिएको छ। यसपूर्व गए बिहीवार पोक्सोको मामिलामा पीड़ित पहलवानको बयान दर्ता गरिएको थियो। बृजभूषण शरण सिंहलाई पक्राउ गर्नुपर्ने मागमा पहलवानहरूले जन्तर-मन्तरमा निरन्तर प्रदर्शन गरिरहेका छन्। आज धरनाको २०औं दिन हो। धरनामा बसेका पहलवानहरूको भनाइ छ, जबसम्म बृजभूषण शरण सिंहलाई भारतीय कुश्ती संघको अध्यक्ष पदबाट बर्खास्त गरेर पक्राउ गर्दैन तबसम्म उनीहरूको प्रदर्शन जारी रहनेछ।
-हिस










