गान्तोक: राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणको सहयोगमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण अर्थात् एसएसडीएमएले भोलि बिहान ९ बजीदेखि राज्यको ६ वटै जिल्लामा भुइँचालो लगायत विविध आपदबारे मोक अभ्यास आयोजन गर्ने भएको छ। यसबारेमा विभागको पक्षबाट एक प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई जानकारी गराइएको छ। यस अवधि विभिन्न स्थानमा मोक ड्रिल गरिनेछ। यस अभ्यासमा सहभागी भई पदाधिकारी तथा आपतकालीन उद्धारकर्ताहरूसँग सहकार्य गर्न विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ भने उक्त अभ्यास कार्यान्वयनको क्रममा सर्वसाधारण जनतालाई नआत्तिन, भयभीत नहुन आग्रह गरिएको छ। प्रतिक्रिया अनि बचाउ प्रणालीले कति राम्रोसँगले काम गर्छ भनेर मूल्याङ्कन गर्नु यस मोक अभ्यासको मुख्य उद्देश्य रहेको छ।गान्तोक जिल्लामा यो मोक अभ्यास स्टार मल ढल्नु, एमजी मार्गस्थित जी२० मस्तुल नजिकको भवन, बज्र वर्ल्डमा आगलागीको घटना, अदमपूल राजमार्गमा सड़क अवरोध, भूकम्प पछि सिचेको जिल्ला कलेक्टर कार्यालयमा निकासी ड्रिल, पाल्जोर नामग्याल गर्ल्स सीनियर सेकेण्डेरी स्कूल, सर टीएनएसएस स्कूल, मेफेयर होटल, एनएचपीसी, स्नेहा काइनेटिक पावर प्रोजेक्टर लिमिटेड, मध्य भारत पावर प्रोजेक्ट लिमिटेड अनि सिङताम गोसखान डाँड़ामा अवस्थित जीएलओएफमा आयोजन गरिनेछ। यसरी नै पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्र, पाकिम बजारमा आगलागी दुर्घटना, एयरपोर्ट गेट अनि डिकलिङ सीनियर सेकेण्डेरी स्कूलमाझको सड़क अवरोध, रम्फू आईओसीएलमा ग्यास लिकेज लगायत पाकिम अनि रम्फू प्राथमिक स्वास्थ्य केन्द्रमा केही क्षति भएकोबारे मोक ड्रिल गरिनेछ। सोही प्रकारले गेजिङ, नाम्ची, सोरेङ, मंगन जिल्लामा पनि विभिन्न स्थानमा आपदा प्रबन्धनबारे मोक ड्रिल गरिनेछ। यस अवधि मानिसहरूलाई सहभागी बन्न विभागले अनुरोध गरेको छ भने मोक ड्रिल कार्यान्वयन अवधि भयभीत नबनिदिने विभागद्वारा सर्वसाधारणमा अनुरोध गरिएको छ।