सिलगढी: एसओजी र प्रधान नगर थाना पुलिसले सिलगढी एनबीएसटीसी बस स्ट्यान्डमा संयुक्त अभियान चलाएर २८ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा बुबाई घोष, लीला चौधरी र सन्ध्या साहा सामेल छन्। तिनीहरूमध्ये बुबाई सिलगढीको टिकियापाडा निवासी हुन् भने लीला र सन्ध्या १ नम्बर वार्ड अन्तर्गत ओल्ड मतिगढा रोड निवासी हुन्। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ। गोप्य सूचनाको आधारमा एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर एनबीएसटीसी बस स्ट्यान्डमा ती तीनजनासित छानबीन गर्दा दुईवटा ब्यागबाट गाँजा उद्धार गरेको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार बुबाई घोष मादक तस्करीको मास्टर माइन्ड हो। लगभग ४ वर्ष अघि बुबाई घोष मादक पदार्थ तस्करी गरेको आरोपमा पक्राउ भएको थियो। लीला चौधरी र सन्ध्या साहामाथि पुलिसले धेरै समय अघिदेखि नजर राखिरहेको थियो। पक्रा परेका आरोपीहरूलाई भोलि शुक्रबार सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।