नाम्चीः नाम्चीको जिल्ला पञ्चायत भवनको सम्मेलन कक्षमा आज एक सचेतना कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजना नाम्ची जिल्लाअन्तर्गत सदामको सयपत्री संघले अग्निशमन विभाग र लाइन विभागको सहयोगमा गरेको थियो। कार्यक्रममा खरसाङका विधायक बीपी बजगाईं मुख्य अतिथि रहेका थिए। उल्लेखनीय छ, कार्यक्रममा राष्ट्रियस्तरमा प्रदान गरिने वीरता पुरस्कारले पुरस्कृत अलिजा छेत्रीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य समाजमा सकारात्मक सोँच र उर्जा प्रदान गर्नु रहेको सयपत्री संघका अध्यक्ष वीरबल छेत्रीले बताएका छन्।
कार्यक्रममा सम्बोधन गर्दै विधायक बजगाईंले सिक्किमले आफूलाई धेरै गुण लगाएको हुँदा परेको समय आफ्नो विधायक पद त्यागेर भए पनि सिक्किमलाई सहयोग गर्ने वचन दिए। नकारात्मक सोँचले पनि समाजमा आपदा ल्याउन सक्छ भन्दै उनले यसलाई त्याग्नु पर्ने उपस्थित विद्यार्थीहरूलाई बताए। पिता-पुर्खाहरू स्कूल नगएका भए पनि पानीको मुहानमा मैला गर्नु हुँदैन, रूख काट्नु हुँदै भनी आपदा प्रबन्धन विषय सचेतना गराएको उनले बताए। विद्यार्थीहरू समक्ष उत्प्रेणात्मक कुराहरू राख्दै उनले कुनै पनि उद्योग धन्धाको निर्माण कार्यका लागि वातवरण प्रेमी नियम हुनुपर्ने कुरामा बल दिए। कार्यक्रममा नयाँ बजार-जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानव, नाम्ची फायर स्टेशनका अधिकारी विशाल राई, नाम्ची मल्टी मिडियाका प्रबन्धन निर्देशक रवि खालिङ आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई, एसकेएम पार्टीको नाम्ची जिल्ला महासचिव प्रभारी एसजे लेप्चा, नाम्ची कन्या वरिष्ठ माध्यामिक विद्यालयका प्राचार्य, शिक्षिकहरू, विद्यार्थीहरू आदिको उपस्थिति रहेको थियो।
-हिस










