मेरो कामको दुष्प्रचार गर्ने मात्र विपक्षीको काम भएको छ: अनित थापा
खरसाङ: खरसाङ चिम्नी देउराली समष्टिमा आज जल जीवन मिशन अन्तर्गत हर घर जल योजनाको शिलान्यास जीटीए चिफ् अनित थापाले गरेका छन्। यस योजनाले ३४१० घरलाई पिउने पानी उपलब्ध गराउने भएको छ। यस योजनाको कुल लागत रु ४७.५१ करोड रहेको छ। खरसाङ चिम्नी देउराली समष्टिमा शिलान्यास गरिएको जल जीवन मिशनको योजना मजुवा चिया बगानमा १०६० घरको निम्ति १४.६२ करोड, सेन्ट मेरीस अनि गोथलस क्षेत्रमा ७१५ घरको निम्ति ३.३९ करोड, चैते पानी चिया बगानका १८० घरको निम्ति ३.५ करोड, बामन धुरा फरेस्ट का ७६८ घरको निम्ति १५.५ करोड , उत्तर शिव खोलाका ५० घरको निम्ति १ करोड अनि दक्षिण शिव खोलाका ६३७ घरको निम्ति १४ करोड राशी आवन्टन गरिएको छ। शिलान्यास कार्यक्रममा सभासद्हरु श्याम शेर्पा, रतन थापा, नुरी शेर्पा साथै खरसाङ नगरपालिकाका नगर अध्यक्ष ब्रिगेन गुरुङको विशेष उपस्थिति रहेको थियो। शिलान्यास पश्चात उपस्थित भेलालाई सम्बोधनमा राख्दै जीटीए चिफ् अनित थापाले भने, “मैले मेरो काम गरिसके। पानी ल्याउने काम मेरो थियो। त्यो ल्याए। अब कामलाई हेर्ने दायित्व तपाईहरुको पनि हो। कामको रेखदेख गर्न एउटा समिति बनाउनुहोस। सबै मान्छेको घरमा पानी पुगेको हुनुपर्छ। सरकारले सधैं यसरी पैसा दिँदैन। आएको पैसाको सदुपयोग भएको हुनुपर्छ।”

थापाले आफ्नो काम गर्ने तरिका पारदर्शी रहेको बताउँदै भने, “हामीले खुल्ला रूपमा काम गर्दैछौ। तर अनित थापाको काममा भूल देखाउने काम विपक्षको साथीहरुले गर्नुहुँदैछ। मेरो कामको दुष्प्रचार गर्ने मात्र काम भएको छ उनीहरूको।”

पञ्चायत चुनावको तयारीमा लाग्ने अपील गर्दै उनले गाउँको काम गर्नु सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने सुझाव राख्दै उनले भने, “यसपालीको चुनावमा काम अनि सोचलाई हेरेर भोट हाल्नुहोस्। जसले पहाडको निम्ति काम गर्छ उसैलाई भोट दिनुहोस्। जातिको भावनात्मक कुरा गरेर भोट माग्नु आउनेहरू थुप्रै हुन्छन्। हामीले भावनाको राजनीति पनि भोगेका छौं। यस्तो राजनीति क्यान्सर रोग जस्तै हो। यो रोगबाट हामीले बाँच्नु सक्नुपर्छ।’