कोलकाता: पश्चिम बंगालको कांग्रेसका एकमात्र विधायक वायरन विश्वासले लगातार फोनमा धम्की पाइरहेका जानकारी पाइएको छ। यसलाई लिएर बुधवार उनले कलकत्ता हाईकोर्टमा याचिका लगाएका छन्।
उनले आफ्नो निम्ति सुरक्षाको माग गरेका छन्। आफ्नो याचिकामा विधायकले लगातार ज्यानले मार्ने धम्की पाइरहेका दाबी गरेका छन्। जिल्ला पुलिसलाई यसबारे विस्तृत जानकारी दिइएको, तर उनलाई सुरक्षा नदिइएको उनले बताएका छन्।
विधायकले हाई कोर्टलाई यस मामिलामा हस्तक्षेप गरी उनको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन्। उनले भने, यस सम्बन्धमा केन्द्रिय गृह मन्त्रालयलाई पनि उनले चिट्ठी लेखेका छन्, तर कुनै जवाफ आएको छैन। कोर्टले उनको याचिका स्वीकार गरेको छ। आगामी सुनवाई सोमवार हुनेछ।