गान्तोकः सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणको संयुक्त तत्वावधानमा आगामी १२ मईमा आयोजन हुने टेबल टक एक्सरसाइज र मक-एक्सरसाइजलाई लिएर समन्वय बैठक आयोजन गऱ्यो। बैठक आयोजन गर्नुको मुख्य उद्देश्य समुदाय र पहिलो प्रतिक्रियाकर्ताहरूलाई विपद्को सम्भावनाका लागि पूर्वतयारीको संस्कृति निर्माण गर्न मद्दत गर्नु, राज्यको विपद् व्यवस्थापन योजनाहरूको पर्याप्तता र प्रभावकारिता मूल्यांकन गर्न राज्य सरकारलाई मद्दत गर्नु, उपलब्ध स्रोतहरू, सञ्चार र प्रणालीहरूमा कुनै पनि कमीहरू पहिचान गर्न रहेको थियो।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका निदेशकले समुदायलाई सूचित गर्न अनि लचिलो बनाउन राज्यका विभागहरू, सेना, पुलिस, एनडीआरएफ, फार्मा कम्पनी र विद्युत परियोजनाहरूसॅंग मिलेर उक्त अभ्यासहरू गर्न सुझाउ दिए। उनले प्रत्येक जिल्लामा विद्यालय, कार्यालय, अस्पताल र आवासीय भवनहरूमा मक-एक्सरसाइज सम्पन्न गरिने जानकारी गराए। उनले यो जन सचेतनाका लागि एउटा अभ्यास रहेको बताउॅंदै कसैलाई नआतिने आह्वान पनि गरे। आगामी १२ मई बिहान ९ बजीदेखि दिउॅंसो १ बजीसम्म राज्यका विभिन्न ठाउॅंहरूमा मक-ड्रिल सम्पन्न गरिने बताइएको छ।
-हिस