खरसाङ: खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको खिताब युनाईटेड खरसाङ फुटबल टिमले युकेएफसीले जितेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा गत ६ मईदेखि सुरु भएको खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टमा जम्मा ९ वटा दलहरूले भाग लिएका थिए भने सबैलाई तीनवटा भागमा विभाजन गरेर लिग कम नक आउट प्रारुपमा खेलाइएको थियो। यस खरसाङ प्रिमियर लिग फुटबल टुर्नामेन्टको फाइनल आज युनाईटेड दिलराम एफसी र युकेएफसीमाझ सम्पन्न भएको थियो। उक्त फाइनल खेलमा युकेएफसीले युनाईटेड दिलराम एफसीलाई ६-२ को अन्तरले खेल जितेर खिताब जित्न सक्षम बनेको छ।

यस फाइनल खेलमा म्यान अफ् द म्याच युकेएफसीको जर्सी नम्बर ११ पेमा लामा चयन भएका छन् भने म्यान अफ् द सिरिजको खिताब युकेएफसीकै खेलाड़ी यङ्देन लामा चयन भएका थिए। त्यसरी नै सर्वोच्च गोलदाताको खिताब युकेएफसीकै खेलाड़ी आयुस तामाङ चयन भएका छन्। खरसाङ प्रिमियर लिग विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।