खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा पनि २५६६औं बुध्द जयन्ती पालन गरिएको छ। विगत दुई वर्ष कोरोना महामारीले गर्दा राम्रो नमनाए पनि यसपाली भने मानिसहरूको जमघट राम्रो रहेको थियो। तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा गुम्बा सञ्चालन समिति तीनधारे बुध्दिष्ट एसोसिएशनको आयोजनामा २५६६औं बुध्द जयन्ती पालन गरिएको छ। यस अवसरमा तीनधारेको मिठाईडाँड़ास्थित गुम्बादेखि भक्तजनद्वारा बुध्दको प्रतिमा लिएर तीनधारे परिक्रमा गरिएको छ।

गुम्बादेखि तीनधारे क्रिकेट बजार हुँदै ब्लु डाईमण्ड स्कूल परिसरमा पुगेर फर्केर आई शरण मेडिकलबाट रेलवे कारखाना हुँदै एनएच ५५ भएर गैरी गाउँ र १७ माइल पुगी पुन: मिठाईडाँड़ास्थित गुम्बा लगिएको थियो। त्यसपछि गुम्बाको मुख्य लामा बुम्बा लामा डुम्जनको बाहुलीबाट वाङ वितरण गरिएको थियो। यस अवसरमा तीनधारेमा बुध्द जयन्ती पालन गर्नलाई सहयोग गर्ने साथै पुलिस प्रशासनप्रति गुम्बा सञ्चालन समितिको सह सचिव सन्तोष लामाले आभार प्रकट गरेका छन्। तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा २५६६ बुध्द जयन्ती पालन गरिएको विषयमा पद्यमा छोईलिङ गुम्बाको अध्यक्ष प्रेम योञ्जनले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।