सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको आसिघर आउटपोस्ट अन्तर्गत भोलानाथपाडाको शिल्पाञ्चल इलाकाको एउटा गोदाममा भएको चोरीको घटनामा पुलिसले २ जनालाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको छ। पुलिसले पक्राउ गरेकाहरू आसिघर निवासी राहुल छेत्री र प्रदीप राय हुन भनि चिन्हित गरिएको छ। गत ३० अप्रेलमा आसिघर आउटपोस्ट अन्तर्गत भोलानाथपाडाको शिल्पाञ्चल इलाकास्थित एउटा गोदामबाट लाखौँ रुपियाँको समान चोरी भएको थियो। गत ३ मईमा गोदामका मालिकले चोरी भएको बारे थाहा पाएपछि आसिघर आउटपोस्टमा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सीसीटीभी फुटेजको आधारमा सम्पूर्ण घटनाको पर्दाफास गरेको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार ४ जना सदस्यको एउटा टोलीले योजना अनुसार गोदाममा चोरी गरेको थियो। सीसीटीभी फुटेजको आधारमा पुलिसले ४ जनालाई चिन्हित गरेपछि गत ८ मईमा दुईजनालाई पक्राउ गरेको छ। पक्रा परेका दुई जनालाई हिजो जलपाईगढी अदालतमा पेश गरेपछि ४ दिनको लागि पुलिस हिरासतमा लिएर गोदामबाट चोरी गरेको सामग्री उद्धार गरेको छ।










