भारतीय यात्रीलाई लक्षित गरी चीनले कैशाल मानसरोवर यात्रा कठिन बनायो

IMG-20230509-WA0027

काठमाडौं: चीनले कैलाश मानसरोवर यात्रालाई कठिन बनाइदिएको छ। भीसालगायत विभिन्न शुल्क वृद्धिका साथै प्रवेश कडाई गरेपछि नेपाली र विदेशीका लागि यात्रा कठिन बनाएको हो। विशेषगरी भारतीय तीर्थयात्रीलाई लक्षित गरी नयाँ नियमहरु ल्याएको छ। कडा नियम बनाएर चीनले भारतका तीर्थयात्रीलाई रोक्न खोजेको विश्लेषण हुन थालेको छ। ट्राभल एजेन्सीहरुले यात्रीका लागि नियम सहज बनाउन पहल थालेका छन्। ट्रेकिङ एजेन्सी एशोशिएसन अफ नेपाल र एशोशिएसन अफ कैलाश टुर अपरेटर्स नेपाले चिनियाँ राजदूत चेन सोङलाई ध्यानाकर्षण पत्र समेत पठाएका छन्। यतिसम्मकी चीनले भारतीय तीर्थयात्रीका लागि यात्राशुल्क अन्य देशका पर्यटकको भन्दा बढी राखेको विषय ध्यानाकर्षणपत्रमा उल्लेख छ।

भारतका पर्यटक तिब्बत जाने अनुमतिका लागि नयाँ दिल्लीमै भीसा लिनुपर्ने वाध्यता छ। पर्यटक आफै भीसाका लागि उपस्थित हुनुपर्छ अनलाइन आवेदन दिन पनि मिल्दैन। बायोमेट्रिक विवरण दूतावासमै लिने अनिवार्य गरिएको छ। विगतमा यो विवरण सीमानाकाको अध्यागमन कार्यालयमा बुझाउन सकिन्थ्यो। नयाँ नियम अनुसार कैलाश मानसरोवर यात्रामा जाने भारतीय पर्यटक कम्तिमा पाँच जनाको समूहमा हुनुपर्ने र कम्तिमा चारजना भीसाका लागि भौतिक रुपमा नै उपस्थित हुनुपर्ने छ।

नेपालीका लागि पनि भीसा शुल्क बढाइएको छ। कोभिड महामारी अगाडि नेपालीले भीसा शुल्क ४२०० रुपियाँ तिरे पुग्नेमा १३ हजार पुर्याइएको छ। तीर्थयात्रीको भरिया बनेर जानेले ३ सय डलर तिनुपर्ने भएको छ। यसअघि एक सय डलर तिरे पुग्दथ्यो। नेपालीका लागि पनि बायोमेट्रिक विवरण काठमांडूमै लिनुपर्ने व्यवस्था गरिएको छ। भारतीय तीर्थयात्रीलाई कडाई गरिएपछि नेपालका ट्राभल एजेन्सीहरु निरुत्साहित भएका छन्। नेपालको काठमाडौंबाट ल्हासा हवाई यात्रा हुँदै कैलाश मानसरोवर यात्रा नेपालगञ्जबाट सिमिकोटबाट हिल्सातर्फबाट हुने यात्राको तुलनामा महङ्गो पर्ने गरेको छ।

कैलाश मानसरोवरको यात्रा सन् २०१६ यता निकै बढेको छ। तर, चीनले पछिल्लो समय गरेको कडा नियम र बढाएको भीसा शुल्कका कारण यात्रीहरु निरुसत्साहित हुने देखिएको छ। कैलाश मानसरोवर यात्रासम्बन्धी ट्राभल एजेन्सीहरुले ६० हजार डलर धरौटी राख्नुपर्ने मापदण्ड समेत चीनले तोकेको छ। हिन्दू धर्मालम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर यात्रमा चीनको कडाई र शुल्क वृद्धिले नेपालमा यससम्बन्धी व्यवसायी चिन्तित भएका छन्। तर, चीनले यसबारे नेपाली पक्षको कुरा सुन्न चाहेको देखिॅंदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement