सिक्किमका पूर्व सैनिकहरूले दिल्लीको धरनामा भाग लिने

IMG-20230410-WA0169.jpg

गान्तोकः वान ऱ्याङ्क वान पेन्सनमा भएको भेदभावको विरोधमा देशको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको धरनामा एक्स सर्विसम्यान एसोसिएसन अफ् सिक्किमले पनि भाग लिने निर्णय लिएको छ। एसोसिएसनका महासचिव एपी राईले मङ्गलवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै चार सदस्यीय पूर्व सैनिकको टोलीले सिक्किमलाई प्रतिनिधित्त्व गर्दै धरनामा भाग लिने जानकारी गराएका छन्। विज्ञप्तिमा जनाएअनुसार, सिक्किमबाट जाने सदस्यहरूमा पाक्योङ जिल्लाबाट अवकाशप्राप्त हवल्दार कृष्णबहादुर राई, नाम्ची जिल्लाबाट अवकाशप्राप्त नायक लाको छिरिङ लेप्चा र हवल्दार अशोक बागदाश अनि सोरेङ जिल्लाबाट लेन्स नायक आशिष सुब्बा रहेका छन्।

सङ्गठनले जनाएअनुसार, भारत सरकारद्वारा लागू गरिएको वान ऱ्याङ्क वान पेन्सनमा सिपाहीदेखि लिएर अनरेरी कप्तानसम्म अनि वीर नारीगणलाई ठूलो अन्याय भएको छ। यस प्रकारको भेदभावपूर्ण नीतिमाथि असन्तुष्टि जाहेर गर्दै देशभरिका पूर्व सैनिकहरू एकत्रित भई केन्द्र सरकारलाई ज्ञापन बुझाएको थियो। तर सरकारले पूर्व सैनिकहरूको मागलाई उपेक्षा गरेपछि देशका विभिन्न राज्यहरूबाट आएका पूर्व सैनिकहरूले जन्तर मन्तरमा धरना गर्दै आएका छन्। यसअघि पूर्व सैनिकहरूले भारतभरिका ७६० जिल्लाबाट सम्बन्धित जिल्लाधीशलाई ज्ञापन बुझाएका थिए। सिक्किमले पनि यसलाई अनुसरण गरेको थियो। यद्यपि यसबारे कुनै पहल भने सरकारपक्षबाट भएको छैन। यसैले देशका विभिन्न राज्यबाट गएका सैनिक प्रतिनिधिहरूले नयाँ दिल्लीमा धरना गरेर चाप सिर्जना गर्ने कार्य गरिरहेका छन्। यसै अभियानलाई सफल बनाउनका लागि एक्स सर्विसम्यान एसोसिएसन अफ् सिक्किमले सम्पूर्ण पूर्व सैनिकहरूलाई एक हुने आह्वान गरेको छ। पूर्व सैनिकहरूले नयाँ-पुरानोको कुनै भेदभाव नगरी भावी सन्ततिको सुरक्षाको निम्ति योगदान दिने एसोसिएसनले आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement