राज्यपालको तीन दिवसीय दक्षिण जिल्ला भ्रमणको समापन

govv_235

गान्तोकः गत ७ मईदेखि दक्षिण जिल्लाको भ्रमणमा रहेका राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको भ्रमण समाप्त भएको छ। तीन दिवसीय भ्रमणको क्रममा उनले दक्षिण जिल्लाका विभिन्न क्षेत्रको भ्रमणसँगै विभिन्न विभागका अधिकारीहरूसँग बैठक गरे। तीन दिवसीय भ्रमणको अन्तिम दिन उनले राभाङलाको देन्सा पाल्छेन छोइलिङ गुम्बामा पुगेर दर्शन गरे भने गोसिल ग्यालसाव रिम्पोछेबाट आशीर्वाद ग्रहण गरे। यसरी नै उनले राभाङला उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पनि उपस्थिति जनाए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यपालले युवा विद्यार्थीहरूबीच उपस्थित हुने अवसर प्राप्त पाएकोमा खुशी व्यक्त गर्दै आफूलाई उत्साहजनक अनुभव गरिरहेको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य हासिल गर्न र राष्ट्र निर्माणकर्ता बन्नका लागि आफ्नो जीवनको शुरुवातमा लक्ष्य निर्धारण गर्नुपर्ने सुझाउ दिए। विद्यार्थीहरूसँग कुराकानी गर्दै उनले प्रतिष्ठित भिक्टोरिया क्रस प्राप्त गर्ने गञ्जु लामाजस्तै प्रेरणा लिएर राज्य र राष्ट्रको नाम रोशन गर्न प्रयास गर्नुपर्ने आग्रह गरे। यसका साथै उनले विद्यालयका युवा क्याडेटहरूको प्रशंसा गर्दै राष्ट्रिय एकतालाई बढावा दिने र विभिन्न विषयमा चेतना फैलाउने गरेको बताए।

अन्तरक्रियको क्रममा राज्यपालले आफ्ना अनुभवहरू र जीवनका अन्य कथाहरू र यात्राहरू साझा गरे। उनले विद्यालयमा विद्यार्थी र शिक्षण संकायहरूको स्तरोन्नतिका लागि आधारभूत सुविधाहरू पनि वितरण गरे। राज्यपालले लाल बजारको आइसीडीएस केन्द्रको निरीक्षण गर्दै आँगनबाडी कार्यकर्ताहरूसँग कुराकानी पनि गरे।

राज्यपालले आंगनवाडी कार्यकर्ताहरूको महत्त्व र उनीहरूले प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकामाथि जोड दिए। साना बाल-बालिकाको मानसिक विकासका लागि उनीहरूको महत्पूर्ण भूमिका रहेको बताउँदै आँगनवाडी कार्यकर्ताहरूको योगदानको प्रशंसा गरे। सोही प्रकारले उनले डोलिङ थारलाम छाङछुप लिङ मनी लाखाङ र डोलिङ झीलको पनि भ्रमण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement