जनकल्याण प्रकोष्ठको नाममा सिक्किमको स्वास्थ्य क्षेत्रमा ठूलो धाँधली भइरहेको भाइचुङको आरोप

pcs_648

गान्तोकः हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले वर्तमान सिक्किम सरकारको स्वास्थ्य सेवा प्रणालीको खुलेर आलोचना गरेका छन्। सिक्किमको स्वास्थ्य व्यवस्था नै डाँवाडोल भएको र एसकेएम पार्टीको जनकल्याण प्रकोष्ठको नाममा स्वास्थ्य क्षेत्रमा ठूलो धाँधली भएको छ भन्ने उनले गम्भीर आरोप लगाएका छन्। बुनियादी स्वास्थ्य सेवामा सुधार ल्याउने काम नगरेर कमिशन खानका लागि सरकारले यस स्वास्थ्य लगायत शिक्षा क्षेत्रमा ठूलो योजनालाई मात्र अघि बढाएको भाइचुङले आरोप लगाएका छन्। स्वास्थ सुविधाको नाममा सिक्किमका जनताले सिलगढीभन्दा दोबर दाममा औषधि किनेर खानुपर्ने अवस्था छ भन्दै स्टोनको अपरेशन गर्न समेत सिक्किमका मानिसहरू राज्य बाहिर जानुपर्ने स्थिति सिर्जना भएको बताए।

गत ६ अप्रेलदेखि हाम्रो सिक्किम पार्टीले शुरु गरेको सिक्किम एकता यात्राको पहिलो चरणको समापन गरेपछि मंगलबार गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले सिक्किमका जनता आधारभूत बुनियादी सुविधाबाट पनि बञ्चित बनिरहेका बताए। राज्यको स्वास्थ्य क्षेत्रमा कुनै व्यवस्थित प्रणाली नभएको, मानिसहरू पिउने पानी, सडक र बिजुली जस्ता सुविधाबाट वञ्चित रहनु परेको दाबी गर्दै सबै क्षेत्रमा बुनियादी सुविधा विकास गराउनुपर्ने अवस्थामा एसकेएम सरकारले कमिशन पाउने योजनालाई मात्र प्राथमिता दिएको आरोप लगाए।

सिक्किम एकता यात्रा क्रममा विभिन्न गाउँका मानिसहरूसित अन्तरक्रिया गर्दा आफूले मानिसहरूको स्थिति दर्दनाक पाएको जानकारी दिँदै ग्रामीण अर्थ व्यवस्था कमजोर बनेका कारण मानिसहरूले धेरै समस्या झेलिरहेको सिक्किमको स्थिति रहेको बताए। सरकारले दिएको सहयोग धेरै मानिसहरूको उपचारका लागि अपुग भइरहेको अवस्था आफू जानकारी पाएको बताउँदै रेफर भएका बिरामीहरूलाई सरकारले भनेजति उपचार खर्च नदिएको भाइचुङले आरोप लगाए। सिक्किमको सरकारी विभाग र जनताको हातमा पैसा नभएको तर एसकेएम पार्टीले भने बोरामा कमिसन थापेर लिफामा केही मानिसहरूलाई मात्रा पैसा दिने प्रथा बनाएर सिक्किमको व्यवस्थालाई पूर्ण धरासायी बनाएको भाइचुङले आरोप लगाएका छन्। मुख्यमन्त्री पीएस तामाङले आम जनताको पक्षमा नभएर केही व्यापारी मित्रको हितमा मात्रै काम गरिरहेको पनि भाइचुङले बताए। एसकेएम सरकार र मुख्यमन्त्रीलाई केन्द्रको भाजपा सरकारको पपेट बताउँदै वित्त विधेयक २०२३ ले थपेको पाँचौ वर्गको सिक्किमे एसकेएम र भाजपा सरकारको मिलिभगमा भएको ठोकुवा गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement