९ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा नादोङ भूटिया फूटबल एकाडमीले जीतको खाता खोल्यो। स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको दोस्रो म्याचमा नादोङ भूटिया एफए-ले हिमालश्री एथलेटिक क्लबलाई ३-०-ले पराजित गर्यो। म्याचमा विजेता टीमबाट प्रवेश छेत्री, अमिनेश राई र प्रणय राईले १-१ गोल गरे। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। बुधवार खेलिने म्याचमा गोरुबथान एफसी र युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ।