मेरो घरको भित्तामा
लस्करै बसेका छन्
एकमुष्ट परेर आशाका पुतली
क्षितिजतिर एकटक हेर्दै
मेरो उपस्थितिले ऊनीहरू
विचलित भएका छैनन्
छेपारोसरि आफ्नो रङ्ग फेरेका छैनन्
निर्धक्क छन् छल कपट नभएको
एउटा सत्यमा
रङ त मान्छैको हुन्छ
कालो सेतो हरियो रातो नानाथरी
छुट्टाउन गाह्रो हुनेगरी धसेको
ध्यासो रङ्गी विरङ्गी आफ्नो शरीरमा
कसैले नदेखिनेगरी
उसको छुट्टै हुन्छ
अनुहारभित्र अर्को अनुहार
मान्छे
छल कपटको कात्रो भिरेर
बस्ने गर्छ संसारका आँखामा छारो हालेर
तर एक झोक्का हावाले
कात्रो उडाइदिन्छ जुन दिन
ऊ नाङ्गो हुन्छ
उसको विचार नाङ्गिन्छ
जीवनको अन्तिम प्रहरमा
रङ्ग उडेर बेरङ्ग हुन्छन् जम्मै उसका
शृङ्गारहरू
कहिले घामले बिदा माग्ने हुन्
नयाँ बिहानीको बाचा गर्दै
रङ्ग नफेरिने घरको भित्तामा
टाँगिएका आशाहरूसँग सुटुक्क।