गान्तोक। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ८औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सिक्किमको मानिसहरू तथा विशेष गरी योग उत्साहीहरूमा शुभकामना व्यक्त गरेका छन्।
अन्तरराष्ट्रिय योग दिवसको पूर्व सन्ध्या जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, २०१४ मा संयुक्त राष्ट्र महासभामा यसको स्थापनापछि प्रत्येक वर्ष २१ जूनका दिन अन्तरराष्ट्रिय योग दिवस मनाउने गरिन्छ। यो वर्ष योगको विषय राम्रो मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्न योगको महत्वमा संवादमाथि ध्यान केन्द्रित गर्दै ‘मानवताका लागि योग’ राखिएको छ। यो वर्ष अन्तरराष्ट्रिय योग दिवस राजधानीको इञ्चे गुम्पासहित देशका ७५ महत्वपूर्ण ठाउॅंहरूमा मनाइने छ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा योग जीवनमा सन्तुलनको लागि हो भन्दै सबैलाई आफ्नो दैनिक जीवनमा योगलाई सामेल गर्न प्रोत्साहित गरेका छन्। योगले व्यक्तिको आन्तरिक चेतना र बाहिरी संसारबीच निरन्तर सम्बन्धको गहिरो भावनालाई सुविधा प्रदान गर्दछ भन्दै योगको समग्र दृष्टिकोणले शरीर र दिमागका विभिन्न अंगहरूलाई लक्षित गर्दछ, आन्तरिक प्रणालीहरू र समग्र स्वास्थ्य सुधार गर्दछ भनी बताएका छन्।
मुख्यमन्त्रीले योग अभ्यासका लागि सिक्किम प्राकृतिक रूपमा उत्तम प्राकृतिक स्थान रहेको तथा योग अभ्यासकर्ताहरू र उत्साहीहरूका लागि सिक्किम योगको केन्द्र बन्ने सम्भावना रहेको बताएका छन्। सिक्किम सरकारले शारीरिक र मानसिक कल्याणका लागि योगलाई एउटा भरपर्दो माध्यमको रूपमा विकास गर्न बल दिइरहेको बताउॅंदै मुख्यमन्त्रीले सबैलाई नियमितरूपमा योग अभ्यास गर्न अपील पनि गरेका छन्।