खरसाङ: भारतीय रेडक्रस सोसाइटी, खरसाङ शाखाको आयोजनामा आज गोर्खा जनपुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षागृहमा विश्व रेडक्रस दिवस सम्पन्न गरियो। भारतीय रेडक्रस सोसाइटी, खरसाङ शाखाको चेयरम्यान तथा खरसाङ महकुमा शासक एजाज अहमद मुख्य अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, सभासद नुरी शेर्पा, सोसाइटीको आजीवन सदस्य टीटी लामा, श्री ओम्, सोनु पाख्रीन लगायत स्कट्स मिशन कन्या उच्चतर माध्यमिक विद्यालय अनि पुष्परानी हाई स्कूलका विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राजु शर्माले स्वागत सम्बोधन राखेपछि सोसाइटीका दिवंगत सदस्यहरूको स्मरणमा उनीहरुलाई श्रद्धाञ्जली अर्पण गर्न मोमबत्ती बालेर मौन प्रार्थना गरियो। त्यसरी नै कार्यक्रममा खरसाङ सदर अस्पतालका एम्बुलेन्स चालक मदन कुमार सिङ्ग, कर्मचारी नरेन्द्र प्रधान, कर्मबन्धु लक्ष्मण हरिलाई उनीहरूले हालसम्म गरिरहेको सेवा कार्यको निम्ति विशेष सम्मान जनाइयो। समारोहलाई सम्बोधन गर्दै खरसाङ महकुमा शासक इजाज अहमदले आजसम्म भारतीय रेडक्रस सोसाइटीले कार्यहरू गर्दैछन् ती सबै नि:स्वार्थ भावले मानव कल्याणको निम्ति गरिरहेको जनाए। उनले गत वर्षहरूको कोविड समयमा यो सोसाइटीले जसरी कार्य गर्यो त्यो साँच्चै नै एउटा उदाहरण हो भन्दै आज उपस्थित विद्यार्थीहरूले पनि यस सोसाइटीको कार्यलाई हेरेर यसबाट प्रेरणा लिई सोसाइटीसंग संलग्न भएर कार्य गर्नुपर्ने कुरोमा जोड दिएका थिए। खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङले आज ८ मईको दिन विश्वभरि नै रेडक्रस दिवस मनाउनु पर्ने औचित्यबारे प्रकाश पार्दै आज स्वीसका एकजना व्यापारी हेन्ड्री डूनाइनको जन्मदिन रहेको औं उनले त्यसताक सैनिकहरूको निम्ति कुनै पनि असुविधा हुँदा सहयोगीहरूसँग मिलेर मैदानमा उत्रिएर नि:स्वार्थ भावले सेवा प्रदान गरेको हुँदा उनैलाई स्मरण गर्दै यो दिवस मनाएको जनाए।

सभासद नुरी शेर्पाले रेडक्रस सोसाइटीका सम्पूर्ण सदस्यहरूलाई आजको यस अवसरमा बधाई दिए। उनले पनि यस सोसाइटीद्वारा विगत कोविडको समयमा गरेको कार्यको प्रसंसा गरे। शेर्पाले सोसाइटीलाई केही सहयोग पनि प्रदान गरे। कार्यक्रमलाई टीटी लामा, श्री ओम आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको अन्त्यमा आजको कार्यक्रमलाई सफतापूर्वक सम्पन्न गर्ने सहयोग प्रदान गर्ने सबैप्रति भारतीय रेडक्रस सोसाइटी, खरसाङ शाखाका सचिव विजय सिंह सिञ्चुरीले सबैलाई धन्यवाद दिएका थिए।









