गान्तोक। राज्यका दुर्गम क्षेत्रका विद्यालयहरूलाई वाहन प्रदान गर्ने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको घोषणापछि आज राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाको बाहुलीबाट यहाँको भीआईपी कोलोनीमा राज्यका दुर्गम क्षेत्रमा रहेका चारवटा विद्यालयलाई बोलेरो वाहन वितरण गरियो। यस वाहन वितरण कार्यक्रममा शिक्षा विभागका सचिव आर. तेलाङ, सचिव डीसी नेपाल, पूर्व सचिव अनिल राज राई, निदेशक होण्डाला ग्याल्छेन, प्रधानाध्यापकगण अनि शिक्षा विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा यो जुन पहल भएको छ सिक्किम राज्यमा यस्तो पहल सम्भवत पहिलोपटक भएको मन्तव्य व्यक्त गरे। उनले दुर्गम क्षेत्रमा शिक्षासँग सम्बन्धित सिकाइमा बाधा पुऱ्याउने धेरै कारण हुनसक्ने र त्यसमध्ये स्थिर यातायात पनि एउटा भएको बताए। त्यसैले दुर्गम क्षेत्रका विद्यालयका लागि सवारी साधन उपलब्ध गराउने पहल महत्वपूर्ण रहेको र यसले राम्रो र बलियो सिकाइ वातावरण निर्माणमा प्रभाव पार्ने शिक्षा मन्त्री लेप्चाले बताए। यस प्रकारको पहलले दुर्गम क्षेत्रका विद्यालयहरूमा दीर्घकालीन मार्गदर्शनलाई प्रोत्साहित गर्ने साथै भौगोलिक कारकको प्रभावलाई समाप्त गर्ने उनले थपे। यस्तो पहलले विद्यार्थी अनि शिक्षकहरूको प्रदर्शनमा थप ऊर्जा मिल्ने मन्त्री लेप्चाले बताए। उनले विद्यालयका प्रधानाध्यापकहरूलाई यो पहलपछि इमान्दारिताका साथ गुणस्तरीय शिक्षामा पूर्ण प्रतिबद्ध भएर कार्य गर्नु प्रोत्साहित गरे।

आज मन्त्रीको बाहुलीबाट सरकारी उच्च माध्यमिक विद्यालय रोलेप, सरकारी उच्च माध्यमिक विद्यालय हि-ग्याथाङ, सरकारी उच्च माध्यमिक विद्यालय लिङ्गी अनि सरकारी उच्च माध्यमिक विद्यालय खिँचीपेरीलाई वाहन प्रदान गरियो। यस अवधि मन्त्री लेप्चाले विद्यालयका प्रधानाध्यापकहरूसँग अन्य विषयबारे कुराकानी गरे।