१५ दिवसीय मेगा आमसा हिलिङ शिविरको समापन

Untitled-1-copy-61

नाम्चीः जोरथाङमा आज १५ दिवसीय मेगा आमसा हिलिङ शिविरको समापन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्री पीएस तामाङ मुख्य अतिथि रहेका थिए। विधायक सुनिता गजमेरले स्वागत भाषण राखेको यस कार्यक्रममा शिविरका प्रभारी मनबहादुर छेत्रीले शिविरको प्रतिवेदन प्रस्तुत गरेका थिए।

उल्लेखनीय छ, यस शिविरबाट १५३५३ जनाले लाभ लिएको बताइएको छ। कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले शारीरिक, मानसिक र आत्मिक रूपमा स्वस्थ बनाउन आफ्नो उपस्थिति दिएकोमा गुरु हजुरलाई धन्यवाद दिए। हेभेन्ली निर्वाणा पाथ धर्म नभएर सबै धर्मलाई सम्मान गर्ने संस्था रहेको बताउँदै प्रेमवाद मानिस जातिको लागि ठूलो कुरा रहेको अवगत गराए। उनले मनको बिमारको औषधि नै प्रेमवाद रहेको उल्लेख गर्दै गुरूहजुरको वचनलाई जीवनमा उतार्न अनुरोध गरे। पैसाले गाडी, बिल्डिङ किन्न सके पनि शान्ति किन्न नसक्ने मुख्यमन्त्रीले बताए। मनमा प्रेमवाद छ भने दुःखको अनुभव नहुने उनले विचार प्रकट गरे। प्रेमवाद गुरु हजुरले शुरू गरेको आध्यात्मिक क्रान्ति रहेको उनले बताए। विपक्षमा हुँदा पनि आफूले गुरु हजुरलाई मानेको र सत्ता गए पनि गुरु हजुरलाई मान्ने उनले बताए। वर्तमान सरकारले सबै धर्म र धर्म गुरुहरूलाई सम्मान गर्ने गरेको कुरा सिक्किममा आएको एउटा परिवर्तन हो भनी मुख्यमन्त्रीले बताए। उनले आफु बाघ होइन, स्याल भएर जनताको सेवा गरिरहेको बताए। सिक्किमबाट ३७१ एफ हटेको छैन भन्दै भ्रम फैलाउनेहरूको कुरा नसुन्न उनले अनुरोध गरे। कार्यक्रममा हेभेन्ली निर्वाण पाथका प्रणेता गुरु हजुरले प्रवचन दिएका थिए। कार्यक्रममा मन्त्री बीएस पन्त, मन्त्री सञ्जित खरेल, मन्त्री सोनाम लामा, मन्त्री एमएन शेर्पा, विधायक टीटी भोटिया, विधायक फर्वन्ती तामाङ, विधायक वाईटी लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ आदिको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement