सोनादा। रंगबुल धोतरिया रंगमुक समष्टिको निर्दलीय प्रार्थी राजेश चौहानले जीटीए चुनाउमा जितेर गएको खण्डमा जीटीए सभाको पहिलो दिन नै मिलिङ चियाबारीको रंगशाला भवनलाई अम्बर गुरुङ रंगशालाको नाममा परिवर्तन गर्ने बताएका छन्। तिनले आज आफ्नो पक्षमा समष्टीको मिलिङ चियाबारीमा सम्पन्न भएको चुनावी सभालाई सम्बोधन गर्दै यस समष्टीलाई विकसित बनाउने कार्य गर्ने बताए। तिनले अझ भने, यहाँ हामी शिक्षा, साहित्य, संगीत र कला क्षेत्र साथै सामाजिक क्षेत्रमा निक्कै अघि छौं र यसलाई अझ विकसित गरेर लैजानलाई कार्य गर्नेछु। अब हामीले राम्रो समष्टी बनाउने कार्य गर्नपर्छ। आजसम्म तपाईहरूले दिनु भएको माया र साथको लागि धन्यवाद दिँदै यसपाली आफुले जित्नेबारे पूर्ण आशा राखेको छु भनी तिनले बताए। सबैले आफ्नो आफ्नो गाउँतिर कसैलाई गाली नगरी चुनाउ प्रचार गरिदिने निवेदन गर्दै तिनले भने, आजसम्म समष्टीमा मैले जुन काम गर्दै आइरहेको छु, त्यसलाई जारी राख्नेछु र मेरो सहयोग सदैव रहनेछ। निर्दलीय प्रार्थी राजेश चौहानले विगतका शासनहरूमा विकास नपुगेको विभिन्न गाउँहरूमा विकास पुयाउनलाई कार्य गर्नेछु अनि विभिन्न गाउँहरूमा मानिसहरूको आवश्यकता अनुसार कार्य गर्ने र गाउँहरूलाई विकासित गराउने आफ्नो सोंच रहेको यसको साथै समष्टीका चियाबारी श्रमिकहरूको लागि पर्जा पट्टाको लागि पनि लगातार रुपमा कार्य गर्ने तिनले वचन दिएका छन्।









