२० जूनः वर्षाले गर्दा भारत र दक्षिण अफ्रिकाबीच पाँचौं तथा निर्णायक टी२० म्याच रद्द गरियो। यसको साथै दुई टीमबीच पाँचवटा टी२० म्याचको सीरीज २-२-को बराबरीमा समाप्त भयो। सीरीज हार्नदेखि बाँचेपछि भारतीय कप्तान रिषभ पन्तले शुरुवाती हारपछि टीम सही बाटोमा अघि बढ़िरहेको अनि एक समय ०-२-ले पछाड़िएपछि पाहुना टीमलाई कड़ा चुनौती दिएर खेलाड़ीहरूले आफ्नो चरित्र देखाएको बताए। पन्तले भने, यो सामान्य निराशाजनक लाग्न सक्छ तर धेरै सकारात्मक पक्षहरू पनि रहेको छ। विशेषगरी एक समय सीरीजमा ०-२-ले पछाड़िएपछि खेलाड़ीहरूले चरित्र देखाए। हामी म्याच जित्ने विभिन्न तरिकाहरू खोज्ने प्रयास गरिरहेका छौं। गल्तीहरू हुनेछ तर हामी सही बाटोमा अघि बढ़िरहेका छौं। मेरो विचारमा यो पहिलोपल्ट मैले एउटा सीरीजमा यति धेर टस गुमाए तर यो सब मेरो नियन्त्रणमा छैन। यसैकारण यसबारे धेर सोचेर केही फाइदा छैन।
पन्त अब पूर्वनिर्धारित पाँचौं टेस्ट म्याचमा हिस्सा लिन ईंग्ल्याण्ड जानेछन्। यस विकेटकीपर-ब्याटरले भने, अब मेरो पूरा ध्यान आउँदो टेस्ट म्याचमा रहनेछ। म रोहित शर्माको कप्तानीमा रहने टीमलाई जीत दिलाउनमा आफ्नो योगदान दिन चाहन्छु। एउटा टीमको रूपमा हाम्रो लक्ष्य ईंग्ल्याण्डमा अन्तिम टेस्ट म्याच जित्ने रहनेछ। यसबाहेक व्यक्तिगत रूपमा म आफ्नो टीमलाई जीत दिलाउनमा अझ धेर योगदान दिन चाहन्छु। उल्लेखनीय छ, बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा वर्षाले गर्दा पाँचौं टी२० म्याच रद्द गरियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ओपनरद्वय ईशान किशन (१५) र रुतुराज गायकवाड़ (१०)-को विकेट गुमाएर ३.३ ओभरमा २८ रन बनाएपछि फेरि वर्षा शुरु हुँदा म्याच रद्द गरियो।
प्लेयर अव् द सीरीज हुने पेस बलर भुवनेश्वर कुमारले बताएअनुसार, एकजना वरिष्ठ सदस्यको रूपमा उनको भूमिकामा अहिले युवा खेलाड़ीहरूलाई सहायता गर्नु पनि सामेल भएको छ। उनले भने, प्लेयर अव् द सीरीज पुरस्कार प्राप्त हुँदा आफूलाई सदा गर्व वोध हुन्छ। विशेषगरी टी२० बलरको रूपमा यो असाधारण अनुभव हुन्छ। म सदा मजबूत रहनमा ध्यान दिन्छु। त्यो चाहे मेरो बलिंग होस् या फिटनेस। म सालौंदेखि खेलिरहेको छु अनि मेरो भूमिका अहिले पनि त्यही छ। अहिले एकजना सीनियर खेलाड़ीको रूपमा टीममा रहने युवाहरूलाई सहायता गर्नु मेरो अतिरिक्त जिम्मेवारी भएको छ। यस अवधि कप्तानले मलाई पूरा साथ दिए। यसैकारण म आफूलाई भाग्यशाली ठान्छु।









